युइएफए युरोपा लिग

औवामियाङको ह्याट्रिकमा मार्सेको रोमाञ्चक जित

काठमाडौं । मार्सेले युइएफए युरोपा लिगमा बिहीबार आयाक्समाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै पाँच खेलमा ११ अंक जोडेको मार्से समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजय ब्यहोरेको आयाक्स समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

घरेलु मैदान भेलोड्रम रंगशालामा मार्सेलाई जित दिलाउन पियरे इमिरिक औवामियाङले ह्याट्रिक पूरा गर्दा एक गोल चान्सेल मंगुलुको नाममा रह्यो । आयाक्सका लागि  ब्रायन ब्रोबेले दुई र चुबा अकपोमले एक गोल फर्काए ।

खेलको नवौ मिनेटमा औवामियाङको पोनाल्टी गोलमार्फत मोर्सेले अग्रता लिएको थियो । तर मार्सेको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । एक मिनेटपछि नै ब्रोबेले खेललाई बराबरीमा ल्याए । 

२६ औं मिनेटमा मंगुलुले गोल गर्दा मार्से २-१ ले अगाडि बढ्यो । चार मिनेटपछि नै ब्रोबेले व्यक्तिगत दोस्रो गोल गर्दा आयाक्स २-२ को बराबरीमा आयो ।

४३ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै मार्सेको अग्रता ३-२ को बनाए । ६३ औं मिनेटमा स्टिभन बर्गुइसले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि आयाक्स १० खेलाडीमा सिमित बन्यो ।

७९ औं मिनेटमा अकपोमले आयाक्सलाई ३-३ को बराबरीमा ल्याए । इन्जुरी समयमा औवामियाङले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा मार्सेले ४-३ को रोमाञ्चक जित दार्ता गर्यो ।

यही समूहको अर्को खेलमा ब्राइटनले एइके एथन्समाथि १-० को कठिन जित निकाल्यो । यसैगरी समूह ‘जी’ मा रोमा  सेर्भेटसँथ १-१ को बराबरीमा रोकिँदा साल्भिया प्रहाले सेरिफमाथि ३-२ को रोमाञ्चक जित निकाल्यो ।