युइएफए युरोपा लिग

सहज जितसँगै लिभरपुल अन्तिम १६ मा

काठमाडौं । लस्कमाथि ४-० को फराकिलो जित निकाल्दै लिभरपुल युइएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितसँगै पाँच खेलमा १२ अंक जोडेको लिभरपुल समूह ‘इ’ को शीर्ष स्थानमा छ । पराजय ब्यहोरेको लस्क समन खेलबाट तीन अंकका साथ पुछारमा छ ।

घरेलु मैदान एनफिल्ड रंगशालामा बिहीबार लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई तथा लुइस डियाज र कप्तान मोहम्मद सलाहले समान एक गोल गरे ।

खेलको १२ औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । तीन मिनेटपछि नै गाक्पोले टोलीको अग्रता दोब्बर बनाए ।

५१ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दा लिभरपुल ३-० ले अगाडि बढ्यो । अतिरिक्त समयमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ४-० ले विजयी भयो ।

यही समूहको अर्को खेलमा टोलोज र युनियन सेन्ट जिलोइसीले गोलरहित बराबरी खेल । यसैगरी  समूह ‘एफ’ को खेलमा भिल्ला रियालले पानाथिनइकोसलाई ३-२ तथा रेनेसले मकाबी हाइफालाई ३-० ले पराजित गरे ।