इङ्लिस प्रिमियर लिग

सेफिल्डमाथि सिटीको रोमाञ्चक जित

काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रमियर लिगमा सेफिल्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै तीन खेलमा नौ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजय ब्यहोरेको सेफिल्ड विना अंक  १७ औं स्थानमा छ ।

सेफिल्डको घरेलु मैदान ब्रामल लेनमा आइतबार सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्ड र रोड्रीले समान एक गोल गरे । घरेलु टोलीका लागि जेडन बोग्लेले एक गोल फर्काए ।

खेलको ६३ औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । हाल्यान्डले ज्याक ग्रेलिसको पासलाई पोस्टको दिशा दिएका थिए ।

८५ औं मनिेटमा बोग्लीले सेफिल्डलाई बराबरीमा ल्याए । तीन मिनेटपछि नै फिल फोडेनको पासलाई सदुपयोग गर्दै रोड्रीले सिटीलाई २-१ को रोमाञ्चक जित दिलाए ।

लिग अन्तर्गत आइतबार नै भएका अर्को खेलमा एस्टन भिल्लाले बर्नेलीविरुद्ध ३-१ को जित निकालेको छ ।