डेभिड डि गिया

डी हियाले युनाइटेड छाड्ने

काठमाडौं । स्पेनिस गोलकिपर डेभिड डी हियाले म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरेका छन् ।

डी हियाले शनिबार सामाजिक संञ्जालमार्फत ओल्ड ट्राफोर्ड छाड्ने घोषणा गरेका हुन् ।

युनाइटेड र डी हियाबीचको सम्झौता जुनको अन्त्यसँगै सकिएको थियो । धेरै चरणको वार्ताका बावजुद नयाँ सम्झौताका लागि सहमति हुन सकेन ।  डी हियाले १२ वर्ष ओल्ड ट्राफोर्डमा बिताए । 

युनाइटेड डी हियाको विकल्पका रूपमा इन्टर मिलानका गोलरकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने प्रयासमा छ ।

डी हियाले युनाइटेडका समर्थकलाई धन्यवाद दिँदै आफूलाई अब नयाँ चुनौती र नयाँ परिवेशमा ढाल्नका लागि  यो सही समय रहेको बताएका छन् ।

डी हियाले सामाजिक सञ्जालमा लेखेका छन् ‘१२ वर्ष सम्मको वर्षको मायाको लागि धन्वाद दिन चाहन्छु । प्रिय सर एलेक्स फर्गुसनले मलाई यो क्लबमा ल्याएदेखि हामीले धेरै कुराहरू हासिल गरेका छौं। मैले क्लबमा रहँदा धेरै गर्व गर्न लयाक क्षण रहे । टोलीको जर्सी लगाउनु, टोलीको नेतृत्व र प्रतिनिधित्व गर्नु मेरा लागि विशेष थियो । यो संसारको सबैभन्दा ठूलो क्लबले केही भाग्यशाली फुटबलरलाई मात्र प्रदान गरेको सम्मान थियो।’

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले एक विज्ञप्तिमार्फत डी हियालाई धन्यवाद दिएका छन् । 

‘म्यानचेस्टर युनाइटेडका एउटा  खेल खेल्नका लागि पनि उत्कृष्ट गुण र चरित्र चाहिन्छ। १२ वर्षमा ५ सय ४५ पटक युनाइटेडको जर्सीमा देखिनु विशेष उपलब्धि हो । समर्थक र सहकर्मी दुवैबाट चार पटक वर्ष खेलाडीको अवार्ड जित्नले डी हियाको प्रदर्शनको स्तर देखाउँछ । क्लबको इतिहासमा डी हिया सधैं उत्कृष्ट गोलकिपरको रूपमा सम्झिने छन्,’ विज्ञप्तिमा भनिएको छ ।

डी हिया सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड भित्रिएका थिए ।