जिटु तेक्वान्दो च्याम्पियनसिप

जिटु तेक्वान्दो च्याम्पियनसिपः सन्दीपा र शिशिरलाई कांस्य

काठमाडौं । सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जिटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित मोरिफिल्डमा भएको च्याम्पियनसिपमा सन्दीपा र शिशिरले ३० वर्षमुनिको पेयर पुम्सेमा कांस्य पदक जितेका हुन् । यो स्पर्धामा चाइनिज ताइपेइले स्वर्ण र अस्ट्रेलियाले रजत पदक जितेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्योरोगीको ८० केजीमुनि र पारसले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

चारै जनाले अस्ट्रेलियाकै अर्को प्रतियोगिता अस्ट्रेलियन ओपन जिटु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दैछन् । सन्दीपा र शिशिरले ३० वर्षमुनिको पेयर पुम्से, सागरले पुरुष ७४ केजी र पारसले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सन्दीपा अध्ययनको सिलसिलामा जापान बस्दै आएकी छन् भने अरु अस्ट्रेलियामै अध्ययन गरिरहेका छन् ।

सन्दीपाले ‘लेभल टु कोचेज’ कोर्स पनि उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षक सन्दीपाले वर्ल्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी थिइन् ।