बेलारुस र बेल्जियमविरुद्धको खेल फाइनल सरहः पेज

कार्डिफ, (खेलाडी)- वेल्सका प्रशिक्षक रोबर्ट पेजले कतार विश्वकप २०२२ को छनोट अन्तर्गत नोभेम्बरमा बेलारुस र बेल्जियमविरुद्ध घरेलु मैदानमा हुने दुवै खेल फाइनल सरह भएको बताएका छन् ।

वेल्स  सात खेलमा ११ अंकका साथ समुह 'ई 'को तेस्रो स्थानमा छ । समान खेलमा समान ११ अंक जोडेको चेक रिपब्लिक दोस्रो स्थानमा छ । वेल्स गोलअन्तरमा मात्र चेक रिपब्लिक भन्दा पछि छ । ६ खेलमा १६ अक जोडेको वेल्जियम शीर्ष स्थानमा छ ।

'हामी नकआउट चरणमा छौ जस्तो लाग्छ,' पेजले भने, 'हामीले कस्तो प्रदर्शन गर्छौ त्यसले छनोटको समाप्तीमा हाम्रो स्थान तय गर्नेछ । त्यसैले बेलारुस र बेल्जियमविरुद्धको खेल हाम्रा लागि फाइनल सरह छ ।'

वेल्सले सोमबार समूह 'ई' मा इस्टोनियालाई १-० ले हराउँदै दोस्रो स्थानमा बसेर प्लेअफ खेल्ने सम्भावना जीवित राखेको थियो ।

त्यस्तै समुह 'ई' मा चेक रिपब्लिकले बेलारुसलाई २-० ले हरायो ।