सहारा युकेका महासचिव थकालीको निधन

काठमाडौं, (खेलाडी)- सहारा युकेका महासिचव धनुपुरन थकालीको बिहीबार बिहान ५१ वर्षको उमेरमा निधन भएको छ । 

पछिल्लो केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थकालीलाई दुई महिनाअघि ह्रदयघात पनि भएको थियो । बेलायतमा बसोबास गर्ने थकालीको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको सहारा युकेका अधिकारीहरुले जानकारी गराएका छन् ।

सहारा युके अनाथ, असहाय तथा आर्थिक रुपमा विपन्न बालकहरुलाई राखेर पोखरामा एकेडेमी संचालन गरिरहेको सहारा क्लब पोखराको मुख्य सहयोगी हो । 

'सहारा क्लव युकेका महासचिव तथा सामाजिक व्यक्तित्व धनु पुरन थकालीको असामयिक निधन भएको खवरले सहारा क्लव पोखरा मर्माहत भएको छ । थकालीले क्लवको श्रीबृद्धीमा पुर्‍याएको योगदान र सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय छ,' सहारा पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताएका छन्, 'उहाँको सपना पूरा गर्न सहारा क्लव पोखरा र सहारा युके, हङकङ तथा अस्ट्रेलिया निरन्तर लाग्ने बचनबद्धता व्यक्त गर्दछौं ।'