सहिद स्मारक ‘ए’ डिभिजन लिग

चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । साबिक विजेता मछिन्द्र क्लबमाथि २-१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै चर्च ब्वाइजले १६ खेलमा आठ जित, ६ बराबरी र दुई हारको नजितासहित ३० अंक जोडेको छ । पराजय ब्यहोरेको मछिन्द्र समान खेलमा ६ जित, ६ बराबरी र चार हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालमा चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र कमल श्रेष्ठले समान एक गोल गरे ।  मछिन्द्रका लागि ओमोलाजा नुरेन करिमले एक गोल फर्काए ।

४१औं मिनेटमा अन्जनले चर्च ब्वाइजलाई अग्रता दिलाए । कमल श्रेष्ठको फ्रिकिकलाई अन्जनले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

५१औं मिनेटमा आशिष चौधरीको क्रसमा अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

६५ औं मिनेटमा करिमले पेनाल्टीमार्फत गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए ।

 आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटा टालाले लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो ।

७१ औं मिनेटमा कमलले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को रोमाञ्चक जित दिलाए । कमलको कर्नर मछिन्द्रका गोलकिपर प्रदिप भण्डारीलाई लाग्दै गोलमा परिणत भएको थियो । 

 लिगमा मछिन्द्रविरुद्ध चर्च ब्वाइज अपराजित रह्यो । यी दुईबीच पहिलो लेगमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।