बिएनए कप अन्तरविद्यालय बास्केटबल

आयोजक बिएनएको विजयी सुरुआत

काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा विजयी सुरुआत गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा बुधबार बिएनएले ह्वाइट माउन्टेनलाई २४-१४ ले पराजित गरेको हो । बिएनएकी स्मृति खत्रीले १२ अंक जोडिन् ।

सिनियर गर्ल्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८-८, पृथ्वीले ग्रिनल्यान्डलाई २८-१६ र एचएचसिएले फेरिल्यान्डलाई २०-१२ ले हराए । नेपाल मोडेलकी चुनिमा गुरुङले आठ , पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसीएकी प्रमिता लामाले ६ अंक जोडे ।

जुनियर ब्वाइजमा पनि बिएनएले पारामाउन्टलाई १८-८ ले पाखा लगायो । बीएनएका दिपेश पण्डितले  आठ स्कोर गरे । जुनियर ब्वाइजमै फेरिल्यान्डले एचएचसीएलाई २४-१२ तथा ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६-१० ले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० तथा ओडिसीका मुकेश शर्माले आठ अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले ओडिसीलाई १५-११ तथा पृथ्वीले स्काइलार्कलाई १४-११ ले पराजित गरे ।

प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले गरे ।

 सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टोली सहभागी छन् । फाइनल जेठ २ गते हुनेछ ।