गोलअन्तर भन्दा पनि तीन अंकका लागि खेल्छौः अल्मुताइरी

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी साफ च्याम्पपियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा सोमबार श्रीलंकाविरुद्ध स्पष्ट तीन अंकको लागि खेल्ने बताएका छन् । 

माल्दिभ्सको राजधानी मालेमा शुक्रबारबाट सुरु भएको प्रतियोगितमा नेपालले साविक विजेता माल्दिभ्समाथि १-० को जितका  साथ  सुखद सुरुआत गरेको थियो ।

अल्मुताइरीले श्रीलंका कठिन प्रतिद्धन्द्धी भएपनि मालेमा जित यात्रा निरन्तरता दिने विश्वास व्यक्त गरे ।

‘श्रीलंका आक्राकम रणनितीमा मैदान उत्रनेछ,त्यसैले उनीहरुलाई हराउन सहज छैन,' अल्मुताइरीले भने ।

अल्मुताइरीले माल्दिभ्सविरुद्धको नतिजाले श्रीलंकाविरुद्धको खेलमा कुनै अर्थ नराख्ने बताए । उनले गोलको भन्दा तीन अंकको अर्थ भएकाले त्यसैका लागि खेल्ने बताए ।

‘समर्थकको हामीले श्रीलंकाविरुद्ध फराकिलो जित हात पारेको हेर्न इच्छा छ तर हामी धेरै गोलमा केन्द्रित भएर खेल बिगार्न चाहदैनौ ,' अल्मुताइरीले भने,'५-० को जितले पनि तीन अंक प्राप्त गर्ने हो  १-० को जितले पनि तीन अंक नै प्राप्त गर्ने हो । त्यसैले हामी फराकिलो गोलअन्तर भन्दा पनि स्पष्ट तीन अंकमा केन्द्रित छौ ।'

त्यस्तै कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्ध जितका साथ साफ च्याम्पियनसिप उपाधि लक्ष्यमा एक पाइला अघि बड्न चाहेको बताए ।

'श्रीलंकाविरुद्धको खेल निकै महत्वपूर्ण छ । हामी तीन अंकका लागि खेल्ने छौ,' किरणले भने, 'हामी माल्दिभ्सविरुद्धको खेलजस्तै श्रीलंकाविरुद्ध पनि अन्तिम मिनेट सम्म लड्ने छौ ।आशा छ हामीले जित यात्रालाई निरन्तरता दिने छौ । हामी श्रीलंका विरुद्ध जितका साथ आफ्नो लक्ष्यमा थप एक कदम अघि बड्न चाहन्छौ ।'

यता बंगलादेशसँग पराजित भएको श्रीलंका नेपालमाथि जितका साथ अंक खाता खोल्ने लक्ष्यमा हुनेछ ।