चितवनको जित यात्रा निरन्तर ,ललितपुरलाई अरुको भर


काठमाडौं, (खेलाडी)- ललितपुर पेट्रियट्सलाई पाँच विकेटले हराउँदै चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) को शीर्ष दुईमा रहने पक्का गरेको छ ।

लगातार तीन जितपछि ६ अंकका साथ शीर्ष स्थानमा बसेको चितवन यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको थियो । ललितपुरमाथिको जितपछि चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ ।

भैरहवा ग्ल्याडियटर्स पाँच अंकका साथ दोस्रो स्थानमा छ भने चार अंक जोडेको पोखरा राइनोज तेस्रो स्थानमा छ । ललितपुर तीन अंकका साथ चौथौ स्थानमा छ भने समान दुई अंक जोडेका काठमाडौ किंग्स इलेभन र विराटनगर वारियर्स क्रमशः पाँचौ र छैटौ स्थानमा छ ।

विराटनगर प्रतियोगिताबाट बाहिरिसकेको छ । भैरहवा र पोखरा प्लेअफ प्रवेश गरेका छन् । चौथौ टोलीका लागि ललितपुर र काठमाडौबीच प्रतिस्पर्धा छ । ललितपुरले पाँच खेल खेलिसकेको छ भने काठमाडौंले तीन खेल मात्र खेलेको छ । त्यसैले ललितपुरलाई शीर्ष चारमा पर्दै प्लेअफ प्रवेश गर्न काठमाडौले बाँकी रहेको दुवै खेल फराकिलो अन्तरले हारेको कामना गर्नु पर्नेछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुरले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य चितवनले १७.२ ओभरमा पाँच विकेट क्षतीमा पूरा गरेको हो ।
चितवनका ओपनर मोहम्मद सहजादले सर्वाधिक ३७ र भिम सार्कीले २७ रन बनाए ।

ललितपुरका अज्मतुल्ला ओमरजाई र रिजन ढकालले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय आठ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन जोडे ।

चितवनका कमलसिंह ऐरीले तीन तथा करिम जनत र सागर ढकालले समान दुई विकेट लिए ।