आइडब्लुएल

गोलकुलमको जितमा सावित्राको ४ गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित गोकुलम केरेलाले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा गोकुलमले नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस उडिसालाई ८-१ ले पराजित गरेको हो ।

गोकुलमको जितमा सावित्राले ४ गोल गरिन् । यस्तै भिभियनले २ तथा शिल्की, ग्रेस समान १ गोल थपे । उडिसाका सुमित्राले १  गोल फर्काइन् ।

सावित्राले खेलको सातौं, ६२औं, ६३ औं र ७९औं मिनेटमा गोल गरिन् । सावित्राको लिगमा यो लगतार दोस्रो ह्याट्रिक हो । उनले पहिलो खेलमा ५ गोल गरेकी थिइन् ।

यसैगरी भिभियनले २८औं र ८६औं, ग्रेसले ४३औं र शिल्कीले ७० औं मिनेटमा गोल गरे । सुमित्राले १२औं मिनेटमा १ गोल फर्काइन् ।