सहिद स्मारक ‘बी’ डिभिजन लिग

एन्फाले ‘बी’ डिभिजन क्लबलाई छलफलका लागि बोलायो

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबलाई छलफलका लागि बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बोलाएको छ ।

दोस्रो पटक पनि तोकिएको मितिमा सहिद स्मारक ‘बी’ डिभिजन लिग गर्न नसकेपछि चौतर्फी आलोचना खेपिरहेको एन्फाले  क्लबका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

सुरुमा चैत १५ बाट दोस्रो डिभिजनको लिग गर्ने घोषणा गरेको एन्फाले गत फागुन १७ गते बसेको विवादास्पद बैठकबाट एकपक्षीय रुपमा चैत २९ बाट सुरु गर्ने गरि अर्को निर्णय गरेको थियो ।

सम्बन्धित सबै १४ क्लब लिगका लागि तयार भए पनि एन्फाले दोस्रो पटक तोकेको मितिमा प्रतियोगिता आयोजना गरेन । गत बुधबार सुरु हुनुपर्ने ‘बी’ डिभिजन लिग गर्न नसकेको एन्फाले नयाँ मिति पनि घोषणा गरेको छैन ।

जसलाई ‘बी’ डिभिजनका क्लबहरुले एन्फाको गैह्र जिम्मेवारीपनाको रुपमा लिएका छन् । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग आयोजनाको विषयलाई यति हचुवा रुपमा लिएर एन्फाले फुटबलप्रति आफू कत्ति पनि जिम्मेवार नरहेको प्रमाण दिएको क्लबहरुले आरोप लगाइरहेका छन् ।

एन्फा र सहभागी १४ क्लबबीच पुस २६ गते बसेको बैठकले चैत १५ बाट ‘बी’ डिभिजन लिग गर्ने सहमती गरेको थियो । क्लबहरुले त्यहीअनुसार तयारी गरे पनि फागुन १७ गते एन्फाको विवादास्पद बैठकले ‘बी’ डिभिजन लिग दुई साता पछि सारेर चैत २९ बाट सुरु गर्ने निर्णय गर्यो । खेल्नुपर्ने क्लबहरुलाई भने त्यसबारे कुनै जानकारी दिइएको थिएन ।

तर, गत बुधबार पनि आर्थिक अभावको बाहानामा लिग गर्नेबाट पछि हटेको थियो ।