एन्फाले सोध्यो थ्री स्टारका प्रशिक्षक केसीलाई स्पष्टिकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री स्टार क्लबको मुख्य प्रशिक्षक मेघराज केसीलाई स्पष्टिकरण सोधेको छ ।

जारी सहिद स्मारक ए डिभिजन लिग ०७९/०८० मा एन्फा कार्यसमितिको चर्को आलोचना गरेपछि केसीलाई एन्फाले मंगलबार स्पष्टिकरण सोधेको छ । एन्फा महासचिव किरण राईले हस्ताक्षर गर्दै तीन दिनभित्र लिखित जवाफ दिन अनुरोध गरेका छन् ।

‘के कति कारण तपाईले एन्फाको छविमा नै आँच आउने अभिव्यक्ति दिएको हो ,सो बारेमा एन्फामा तीन दिनभित्र स्पष्टिकरण (लिखित जवाफ) पेश गर्नुहुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।

एन्फाले केसीलाई सम्बोधन गर्दै एन्फाको नयाँ कार्यसमितिले औपचारिकताको लागि मात्रै सहिद स्मारक ए डिभजिन लिग गरिएको, एन्फामा चरम आर्थिक अभाव रहेको, एन्फाले खेल दौरान पानी समेत उपलब्ध गराउन नसकेको र आफूले एन्फालाई आर्थिक सहयोग गर्न तयार रहेको जस्तो असम्बन्धित र अमर्यादित अभिब्यक्तिहरु दिएको र त्यसमा एन्फाको ध्यानाकर्षण भएको बताएको छ ।

जारी लिग अन्तर्गत २७ चैतमा मनाङ मर्स्याङ र थ्री स्टार तथा ४ वैशाखमा थ्री स्टारविरुद्ध चर्च ब्वाइजको खेल हुँदा केसीले एन्फा र अब्यवस्थित लिगको विषयमा असन्तुष्ट जनाएका थिए ।

जारी लिगमा थ्री स्टार ९ खेल खेल्दै १५ अंक जोडेर छैटौं स्थानमा छ । विक्रम लामाको कप्तानीमा रहेको थ्री स्टारले चार जित, तीन बराबर र दुई हार नतिजा निकालेको छ ।