सहिद स्मारक ‘ए’डिभिजन लिग

फ्रेन्ड्ससँग बराबरीमा रोकियो चर्च ब्वाइज

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले  फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेलेको छ ।

यस नितजासँगै आठ खेलमा तीन जित र पाँच बराबरीसहित चर्च ब्वाइजले १४ अंक जोडेको छ । फ्रेन्ड्सको समान खेलबाट एक जित, दुई बराबरी र पाँच हारको नतिजासहित पाँच अंक छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न आठौं चरण अन्तर्गतको खेलमा अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज अंक बाँड्न बाध्य बन्यो ।

खेलको २१ औं मिनेटमा जोसेफ बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।  रक्षक सुशील शाहले दिएको लामो दूरीको पासलाई नियन्त्रणमा लिँदै बेम्पाहले फ्रेन्ड्सका तीन रक्षकलाई बिट गर्दै पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरे।

७३ औं मिनेटमा अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याएका थिए ।

चर्च ब्वाइजका रक्षक मनोज राईले पेनाल्टी बक्स भित्र टोरिक जेब्रिनलाई फउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । 

७५ औं मिनेटमा अमितको फ्रिकिकमा रफिक अमिनुको हेडर चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे ।

७९ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा भारतीय फरवार्ड रन्जित पान्द्रेको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे । रन्जितको लिगमा यो पहिलो खेल हो ।