एर्लिङ ब्राउट हाल्यान्ड

चोटका कारण हाल्यान्ड नर्वेको टोलीबाट बाहिर

काठमाडौं । ग्रोइन चोटका कारण इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हाल्यान्ड नर्वेको टोलीबाट बाहिरिएका छन् ।

नर्वेले युरोपियन च्याम्पियनसिप-२०२४ छनोट अन्तर्गत मार्च २६ मा स्पेन र मार्च २८ मा जर्जियाको सामना गर्नेछ ।

हाल्यान्डले प्रशिक्षणका क्रममा असहज महसुस गरेपछि टोलीबाट हटाइएको नर्वेका प्रशिक्षक स्टेल सोल्बाकेनले बताएका छन् । नर्वे राष्ट्रिय टोलीका डाक्टर ओला स्यान्डले हिजो र आजको परीक्षणपछि उनले यो साता खेल्न नसक्ने पुष्टि भएको बताएका छन्  ।

शनिबार एफए कपको क्वाटरफाइनलमा सिटीले बर्नलीलाई ६-० ले हराउँदा हाल्यान्डले ह्याट्रिक पूरा गरेका थिए । उक्त खेलमै उनले ग्रोइनमा समस्या  देखिएको थियो ।

सन् २०१९ मा  नर्वेका लागि डेब्यु गरेका हाल्यान्डले देशका २३ खेलमा २१ गोल गरिसकेका छन् ।