तिलोत्तमा गोल्ड कप

मनाङ सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको  सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न मनाङलाई जित दिलाउन प्रसन्न श्रेष्ठ र चेतन थारुको समान एक गोल गर्दा पुलिसका वुद्ध तामाङले एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा प्रसन्नको गोलमार्फत मनाङले अग्रता लिएको थियो ।  पहिलो हाफको इन्जुरी समयमा चेतनले गर्दै टोली अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा वुद्धले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा मनाङले २-१ को रोमाञ्चक जित निकाल्यो ।

सेमिफाइनलमा मनाङले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । फ्रेन्ड्सले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम ११ र थ्री स्टार क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार एक सय ११ तथा दोस्रो हुने टोलीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।