सहिद स्मारक ‘ए’ डिभिजन लिग

हामी पुनरागमन गर्नेछौंः प्रशिक्षक घिमिरे

 काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो पराजय ब्यहोरे पनि विभागीय टोली नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेले खराब प्रदर्शन नरहेकाले टोलीले उत्कृष्ट प्रदर्शनका साथ पुनरागमन गर्नेमा आशावादी रहेको बताएका छन् ।

‘हामीले लगातार तेस्रो खेलमा पराजय ब्यहोरेका छौँ । तर टोलीको प्रदर्शन भने नराम्रो छैन । धेरै अवसर पाएको भए पनि फिनिसिङमा चुकिरहेका छौं,’ प्रशिक्षक घिमिरेले भने,‘लगातारको हारले प्रेसर बढाए पनि लिगमा अझै २३ खेल बाँकी रहेकाले आशावादी छु । टोलीमा युवा खेलाडी भएकाले उनीहरुलाई लय समात्न केही समय लाग्छ । आगामी खेलमा उत्कृष्ट प्रदर्शन हुनेछ ।’

लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा पुलिसले संकटा क्लबसँग ३-० को हार ब्यहोरेको थियो । च्यासल मैदानमा संकटालाई जित दिलाउन गणेश हमाल, रोशन पहारी र सुरज ज्यु ठकुरीले समान एक गोल गरेका थिए ।

यस हारसँगै पुलिस अंकविहिन रहँदै अंक तालिकाको पुछारमा झरेको छ ।  यसअघि  पुलिसले नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग २-१ तथा हिमालयन शेर्पा क्लबसँग १-० को हार ब्यहोरेको थियो ।