सहिद स्मारक ‘ए’ डिभिजन लिग

एपिएफ र जावलाखेलले अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

१० खेलाडीमा समेटिएकाे एपिएफविरुद्ध मौकाको फाइदा उठाउन नसक्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेलले एक अंकमा चित्त बुझायो ।

खेलको ६९ औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई पहेँलो कार्ड देखाएका थिए । तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाए ।

यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकनेनन् ।

२४ औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपिएफका गोकिपर एन्जल श्रेष्ठले बचाएका थिए । त्यसको पाँच मिनेटपछि एन्जलले  नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन सकेन

३२ औं मिनेटमा एपिएफका हरि कार्कीले गोलको सुनौको अवसर गुमाए । ३९ औं मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए ।

४७ औं मिनेटमा एपिएफका सनिश श्रेष्ठको प्रहार अनिशले बचाए  । त्यस्तै ६८ औं मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो ।

यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक हुँदा एपिएफको समान खेलमा चार अंक छ ।

जावालखेलले यसअघि साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ३-१ तथा न्युरोड टिम (एनआरटी) लाई २-१ पराजित गरेको थियो ।

यसैगरी थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लबसँग १-० को हार ब्यहोरेको थियो ।