नेपाली फुटबल

महासचिव र कोषाध्यक्षको बर्खास्तगी माग गर्दै बहुमत सदस्यले बुझाए पत्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही फागुन १७ गते हुने केन्द्रिय कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तगीसहित विभिन्न पाँच एजेन्डा थप गर्ने माग राख्दै तीन उपाध्यक्षसहित १२ जनाले एन्फामा पत्र दर्ता गराएका छन् ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका हुन् ।

एन्फा सचिवालयले बुधबार विभिन्न १९ एजेन्डामा छलफल गर्न भन्दै आउँदो १७ गते बुधबार बिहानका लागि कार्यसमितिको बैठक बोलाएको थियो । एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक विक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ११ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका हुन् । यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर/डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख छ ।

यसैगरि एसियाली फुटबल महासंघ (एएफसी)का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीका निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको छ । 

कार्यसमितिका सदस्य रुपेश अधिकारीले नेपाली फुटबलको दीर्घकालिन भविश्य सुरक्षित गर्नका लागि यस्तो कदम चाल्नुपरेको बताए । ‘एन्फाको सचिवालय र एकाउन्ट यसरी चल्न सक्दैन । हामी ठूला कुरा गरेर निर्वाचित भयौं । तर एन्फा सञ्चालनमा पटक्कै पारदर्सिता छैन । फुटबल र खेलाडीका विषय एन्फाको प्राथमिकतामा परेन,’ अधिकारीले भने, ‘सचिवालयले हामीलाई बैठकका लागि निमन्त्रणा गर्दा उल्लेख गरेका एजेन्डामा मुख्य कुरा छैनन् । खेलाडीलाई दिने भनेर नदिइएको पुरस्कारको कुरा छैन ।’

अधिकारीले प्रतियोगिता सञ्चालन तथा एन्फाका प्रत्येक कृयाकलापलाई नियाल्नुपर्ने जिम्मेवारी भएका विभिन्न न्यायीक समितिको इन्टिग्रिटी चेक पारदर्सी तरिकाले नभएको बताउँदै त्यसको सही परिक्षणविना नेपाली फुटबल अघि बढ्न नसक्ने बताए ।

असोज १२ गते भएको विशेष साधारणसभाले अनुशासन कमिटी, अपिल कमिटी र इथिक्स कमिटी गठन गरेको थियो । तर विधानअनुसार तीनवटै कमिटीको सदाचार परिक्षण (इन्टिग्रिटी चेक) हुनुपर्नेमा नभएको उनको भनाई छ ।

‘न्यायीक कमिटीको इन्टिग्रिटी चेक नै पारदर्सी छैन भने भविश्यमा कसरी फुटबल अगाडि बढाउने भनेर हामीले बेलैमा यो कुरा उठाएका हौं,’ अधिकारीले सबै निवेदनकर्ताहरुको तर्फबाट भने, ‘अहिले पनि यी तमाम बेथितिको विषयलाई उठान गर्न नसके भविश्यमा फुटबल झनै दलदलमा फस्छ भनेर हामी एउटा टिम बनाएर नेपाली फुटबल जोगाउने बाटोमा अघि बढेका हौं ।’

‘२०७९ फागुन १७ गते एन्फा कम्प्लेक्समा हुने कार्यसमिति बैठकमा संघको विधान २०७७ संस्करणको धारा ३९ को ३ बमोजिम देहायको विषयसुचि (एजेन्डा) थप गरिदिनुहुन अनुरोध गर्दछौं’ भन्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गरिएका विभिन्न पत्र एन्फामा दर्ता भएका छन् ।

दुई उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित आठजनाले संयुक्त तथा अर्का उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्यहरु भोजराज शाही, भरत बुढ थापा र राम जोशीले इमेलबाट व्यक्तिगत पत्र दर्ता गराएको बताइएको छ । संयुक्त पत्र दर्ता गराउने सदस्यहरुमा रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, रमेश ब्यन्जनकार, पेमा लामा र सरला श्रेष्ठ छन् ।

एन्फाले  बुधबार फागुन १७ गतेका लागि कार्यसमिती बैठक बोलाउँदा समावेश गरेका १९ एजेन्डाः

१.  अन्तर्राष्ट्रिय थ्रिनेसन कप आयोजना बारे
२.  महिला ओलम्पिक छनोट प्रतियोगिता बारे
३.  ‘ए’ डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी  चार वर्षको योजना बारे
४.  ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालन बारे
५.  जिल्ला लिग सञ्चालन बारे
६.  यस वर्षको महिला लिग आयोजना बारे
७.  विद्यालय स्तरिय महिला र पुरुष दुई/दुई वटा उमेर समुहको प्रतियोगिता आयोजना बारे
८.  पदपूर्ति समितीले सिफारिस गरिएको कर्मचारी नियुक्ती बारे
९.  महिला र फुटसलको  फ्रेन्चाईज प्रतियोगिता बारे
१०.  महिला एकेडेमी बारे
११.  प्रदेश संघको अधिवेशन बारे
१२.  फुटसल लिग आयोजना बारे
१३. फ्रेन्चाइज लिगको लागि नेपाल स्पोर्टस इभेन्ट्स म्यानेजमेन्ट( एनइएसएम) लाई प्रतियोगिताको समय उपलब्ध गराउने बारे
१४. राष्ट्रिय टोली र संघलाई आवश्यक खेलकुद सामग्रीहरु स्पोन्सरशिप र खरिद बारे
१५. विभिन्न देशमा संघको समन्वय समिति गठन गर्ने बारे
१६. स्थायी समिती तथा अन्य आवश्यक समिति गठन बारे
१७. आपतकालिन समिती गठन बारे
१८. सिइओ, सहायक महासचिवहरु लगयत कर्मचारी पदाधिकारी नियुक्ती बारे
१९. विविध