च्याम्पियन्स लिग

लाइपजिगसँग बराबरीमा रोकियो सिटी

काठमाडौं । अग्रता जोगाउन नसक्दा इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लाइपजिगसँग १-१ को बराबरीमा रोकिएको छ ।

बुधबार राति सम्पन्न खेलमा सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइपजिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए ।

रेडबुल एरिनामा खेलको २७ औं मिनेटमा महारेजको गोलमार्फत सिटीले अग्रता लिएको थियो । महारेजले इल्के गुन्डोगनको पासलाई सदुपयोग गरेका थिए ।

७० औं मिनेटमा जिभार्डीओलले गोल गर्दै लाइपजिगलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।  

दोस्रो लेग १४ मार्चमा सिटीको मैदान इतिहाद स्टेडियममा हुनेछ ।