च्याम्पियन्स लिग

कोम्यानको गोलमा बायर्नको जित

पेरिस । किंग्सले कोम्यानले च्याम्पियन्स लिगमा पुनः निर्णायक  गोल गरेको दिन मंगलबार जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले अन्तिम १६ पहिलो लेगमा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) माथि १-० को जित निकालेको छ ।

तीन वर्ष अघि बायर्नले पिएसजीलाई १-० ले हराउँदै च्याम्पियन्स लिग जित्दा कोम्यानले नै निर्णायक गोल गरेका थिए । 

५३औं मिनेटमा कोम्यानले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । चोटका कारण पछिल्लो केही साता मैदान बाहिर रहेका पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे ५७औं मिनेटमा मैदान  प्रवेश गरेका थिए ।

खेल सकिन आठ मिनेट बाँकी रहँदा एमबाप्पेको गोलमा पिएसजी खेलमा फर्किएको थियो । तर भिएआरले अफसाइड भएको भन्दै सो गोललाई मान्यता नदिएपछि पिएसजी निराश बनेको थियो ।

वर्ष २०२३ मा पिएसजी सबैखाले प्रतियोगिता गरि पराजित भएको यो पाँचौ खेल हो । 

पिएसजीले लिग वानमा आइतबार लिलेको सामना गर्नेछ भने बायर्नले शनिबार बोरुसिया मोन्चेनग्लाडबाचको सामना गर्नेछ ।