एसी मिलान

डेस्टलाई अर्को धक्का

काठमाडौं । इटालीमा पर्याप्त खेल समय पाउन संघर्षरत रक्षक सर्जिनियो डेस्टलाई एसी मिलानले च्याम्पियन्स लिग खेल्ने टोलीबाट हटाएको छ ।

मिलानले खेलेको पछिल्लो खेलमा पनि अनुपस्थित रहेका अमेरिकन रक्षक डेस्ट च्याम्पियन्स लिगको टिममा पनि नपरेपछि उनलाई अर्को ठूलो झट्का लागेको हो ।

मिलानले भर्खरै फेब्रुअरी १४ मा इङ्लिस प्रतिद्धन्द्धी टोटनहमविरुद्धको खेलका लागि सार्वजानिक गरेको २५ सदस्यीय टोलीमा डेस्टको ठाउँमा २१ वर्षे जर्मन रक्षक मालिक थियालाई राखेको छ ।

मिलान र टोटनहमबीच युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको अन्तिम १६ मा भिडन्त हुँदैछ । पहिलो लेग फेब्रुअरी १४ मा सान सिएरोमा हुनेछ भने दोस्रो लेग टोटनहमको लन्डनस्थित मैदानमा हुनेछ । दुवै खेलमा डेस्ट अनुपस्थित हुनेछन् ।

यही वर्ष स्पेनिस क्लब बार्सिलोनबाट लोनमा अनुबन्ध भएका डेस्टलाई मिलान स्पेन नै फर्काउन चाहन्छ ।