सन्दीप लामिछाने

सन्दीपलाई बन्द प्रशिक्षणमा सामेल गराएकोमा कांग्रेस महामन्त्री शर्माको आपत्ति

तस्बिरः शर्माको फेसबुकबाट

काठमाडौं । बलात्कारको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सामेल गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।

महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमार्फत सन्दीपको विषयमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेको बताएका हुन् ।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ-खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?,’शर्माले लेखेका छन्,‘खेलकुदमन्त्री पनि प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।’

शुक्रबारबाट  औपचारिक रूपमा बन्द प्रशिक्षणमा फर्किएका हुन् ।  मंगलबार र बुधबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो ।

नाबालिग बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।