अर्जेन्टिनाविरुद्ध क्रोएसिया

अर्जेन्टिना र क्रोएसिया भिड्दै

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप २०२२ नै आफ्नो अन्तिम सहभागिता भएको बताइसकेका छन् । 

क्लब फुटबलमा धेरै उपाधि जितेका सात पटकका बलोन डी अर विजेता मेसी विश्वकप उपाधिसहित सुखद बिदाई चाहन्छन् ।

मेसीको कप्तानमा रहेको अर्जेन्टिनाल आज राती हुने सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

अर्जेन्टिना नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । यद्धपी नेदरल्यान्ड्सविरुद्ध २० को अग्रता लिए पनि अन्तिम सात मिनेटमा सो अग्रता जोगाउन नसकेको अर्जेन्टिनाले क्रोएसियाविरुद्ध सेमिफाइनलमा स्थान बनाउन पेनाल्टी सुटआउटको साहारा लिनु परेको थियो । 

यी दुई टोली पछिल्लो पटक रुस विश्वकप २०१८ को समूह चरणमा भिडेक थिए । जहाँ क्रोएसियाले ३-० को सहज जित निकालेको थियो । 

यता अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको क्रोएसिया रुस विश्वकपमा निकालेको नतिजाका निरन्तरता चाहन्छ ।

अर्जेन्टिनालाई प्रमुख प्रतियोगिताको उपाधि जिताउन नसकेको भन्दै आलोचित भएका मेसीले गत वर्ष कोपा अमेरिकाको उपाधि जिताएका थिए ।

जारी विश्वकपमा मेसीले चार गोल गरिसकेका छन् भने दुई गोलका लागि पास उपलब्ध गराएका छन् । त्यसैले मेसीको गोल लय रोक्नु क्रोएसियाका लागि चुनौती हुनेछ ।

क्रोएसिया भने कप्तान लुका मोडरिचको मिडफिल्ड जादु कायम रहेको हेर्न चाहन्छ । उनकै कप्तानीमा क्रोएसियाले चार वर्षअघि पहिला पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो । मोडरिचलाई मिडफिल्डमा मार्सेलो ब्रोजोभिच र माटियो कोभासिचले साथ दिनेछन् ।