काठमाडौं । योहान क्रायफको ‘टोटल फुटबल’ले १९७० को दशकमा विश्व फुटबलमा अधिपत्य जमायो । त्यसैको प्रभावमा त्यतिबेला डच टोलीको ऐना मानिने आयाक्सले १९७१ देखि १९७३ सम्म लगातार तिन पटक च्याम्पियन्स लिग जित्यो ।
डच फुुटबलका तत्कालिन सुपरस्टार क्रायफ, एकसेएक प्रतिभावान उनका टिम सहयात्री र उनीहरुको अपूर्व तालमेलमा जमेको ‘टोटल फुटबल’का कारण जर्मनीमा १९७४ विश्वकप सुरु हुँदा नेदरल्यान्ड्स उपाधिको निर्विकल्प दाबेदारजस्तै थियो । फुटबल विशेषज्ञहरु नेदरल्यान्ड्सले विश्वकप जित्नेमा सर्वसम्मत थिए । कारण, आयाक्सका धेरै जसो खेलाडी राष्ट्रिय टोलीबाट खेलिरहेका थिए । उनीहरु भन्ने गर्थे, ‘यो डच मेसिनलाई रोक्न सकिन्न ।’ भयो पनि त्यस्तै । प्रतियोगितामा विपक्षीहरुलाई सजिलै पराजित गर्दै नेदरल्यान्ड्स फाइनल पुग्यो ।
फाइनलमा नेदरल्यान्ड्सको प्रतिद्वन्द्वी थियो, आयोजक जर्मनी । फ्रान्ज बेकेनबाउरको नेतृत्वमा रहेको जर्मनीभन्दा नेदरल्यान्ड्स केही कुराले अगाडि थियो । डच टोलीको मनोबल आयोजकको भन्दा उच्च थियो । टिममा समन्वय उदाहरणीय थियो । क्रायफ र उनका सहयात्रीहरु करियरकै उत्कर्षमा थिए ।
|
‘म्युनिखको ओलम्पियास्ट्याडियनमा ८० हजार हाराहारीमा दर्शक थिए । जसमा ७५ हजार त जर्मन नै थिए । नेदरल्यान्ड्स समर्थक जम्मा पाँच हजार । हामीले खेल २–१ को नतिजामा हार्यौं । हारका विभिन्न कारणहरु थिए । मुख्य कारण चाँही घरेलु दर्शकको बाहुल्य नै थियो,’ तत्कालिन डच टोलीका मिड्फिल्डर योहान निसकेन्स त्यो फाइनल सम्झिँदा अझै मुख अमिलो पार्छन ।
खेलमा सुरुआती अग्रता नेदरल्यान्ड्सले लिएको थियो । निसकेन्सले नै पेनाल्टीमार्फत डच टोलीलाई अग्रता दिलाएका थिए । नेसकेन्स ‘टोटल फुटबल’ शैलीका एक प्रमुख खेलाडी थिए । १९७० को दशकमा नेदरल्यान्ड्सले विश्व फुटबलमा बलियो प्रभाव पार्दा निसकेन्स टोलीका महत्वपूर्ण सदस्य थिए । नेसकेन्समा प्राविधिक ज्ञान थियो । अथक धावक थिए । उनीबाट गोलहरु निस्कन्थे । उनी आधुनिक फुटबलको प्रारम्भिक दिनका ‘बक्स टु बक्स’ मिडफिल्डर हुन् । दुई मिडफिल्डरको काम एक्लै भ्याइदिने खुबी राख्थे निसकेन्स ।
निसकेन्स अहिले स्थानीय प्रशिक्षकहरुलाई प्रशिक्षित गर्ने डच फुटबल संघको एउटा कार्यक्रमका लागि बर्ट जुरम्यान, किम्बर्ली मिरान्डा र योहान भ्यान गेइजनसँगै काठमाडौंमा छन् । उनीहरु सबै डच फुटबल संघका एक्सपर्ट इन्सट्रक्टर हुन् । नेपाली प्रशिक्षकहरुलाई फुटबलको नयाँ प्रविधि, रणनीतिक तरिका लगायतका विषयमा प्रशिक्षित गर्ने ६ दिने कार्यक्रम आइतबारबाट एन्फा कम्प्लेक्समा सुरु भएको छ ।
विश्वकप फाइनल इतिहासमा सबैभन्दा कम समयमा गोल गर्ने कीर्तिमान अहिले सम्म पनि नेसकेन्सकै नाममा छ । नेसकेन्सले जर्मनी विरुद्ध खेल सुरु भएको ९० सेकेन्डमा गोल गरेको ४८ वर्षभन्दा बढी भइसक्दा पनि कसैले तोड्न सकेका छैनन् ।
‘खेल सुरु भएसँगै हामीले बललाई आफ्नो पोसेसनमा राख्यौं । खेलको पहिलो मिनेटमै क्रायफलाई युली होइनेबले लडाए । हामीले पेनाल्टी पाउँदासम्म जर्मनीले बल छुन समेत सकेको थिएन । समूह चरणमा बुल्गेरियाविरुद्ध मैले दुई पेनाल्टी हानेको थिएँ । दुवै गोलमा परिणत भएका थिए । त्यसैले पनि मलाई जर्मनीविरुद्ध पेनाल्टी हान्न दिइएको थियो । तर फाइनल खेलको माहोल भिन्न हुन्छ,’ दरबारमार्गस्थित हार्डरक रेस्टुरेन्टमा पोर्चुगल र मोरक्कोबीचको विश्वकप क्वार्टरफाइनल खेलको प्रतिक्षा गर्दै गर्दा नेसकेन्सले आफ्ना दिन सम्झँदै भावुक भए, ‘फाइनलको दबाब छुट्टै हुन्छ । बल प्रहार गर्न दौडदै गर्दा केही यार्ड अगाडि बढेपछि जर्मन गोलरक्षक सेप मेयरलाई मैले प्रहार गर्ने दिशा थाहा छ भन्ने लाग्यो । त्यसैले मैले दिशा परिवर्तन गर्ने निर्णय गरेँ । तर मेरो प्रहार सिधा गयो । सौभाग्यवस मेयरले छिटो डाइभ हान्दा बलले जाली चुम्यो र हामीले अग्रता लियौं । विश्वकप फाइनलमा गोल गर्न पाउँदा म एकदमै खुसी भएँ । यद्यपि मैले सोचेको जस्तो भएन । तर गोल गर्नु ठूलो कुरा हो । कसरी गोल भयो, त्यसले महत्व राख्दैन । दुर्भाग्यवश मेरो गोल विश्वकप जित्न पर्याप्त भएन ।’
जर्मनीविरुद्ध त्यतिबेला पराजय भोग्दा नेस्केन्सको मनमा लागेको घाउ अझै निको भएको छैन । उनी आफूहरुले फाइनल हार्नुको मुख्य कारण आयोजकले गरेको अनुचित टिकट विक्रीलाई नै मान्छन् । ‘फाइनलमा जर्मन समर्थकहरुले धेरै टिकट किने । घरेलु भूमिमा दर्शकको बाक्लो उपस्थितिले जर्मनीलाई ठूलो फाइदा भयो । अहिले स्थिति फरक छ । टिकट वितरण पहिलाको जस्तो अनुचित हुँदैन । यसले खेलमा ठूलो फरक ल्याउँछ,’ उनको मन मानेको छैन ।
नेसकेन्सले जर्मनीमा नेडरल्यान्ड्सका लागि सर्वाधिक पाँच गोल गरेका थिए । नेसकेन्स, उच्च गोलकर्ता बनेका पोल्यान्डका ग्रेगर लाटोभन्दा दुई गोलले मात्र पछाडि रहेका थिए ।
नेदरल्यान्ड्सले चार वर्षपछि फेरि फाइनलमा आयोजकसँगै पराजय बेहोर्यो । पारिवारिक कारणले गर्दा क्रायफ अर्जेन्टिनामा भएको १९७८ विश्वकपमा सहभागी थिएनन् । क्रायफको अनुपस्थितीका बावजुद नेदरल्यान्ड्सले फाइनलसम्मको यात्रा गर्यो । तर फाइनलमा अर्जेन्टिनले नेदरल्यान्ड्सलाई ३–१ को नतिजामा निराश पार्यो । नेसकेन्सले अर्जेन्टिनामा एक गोल पनि गर्न सकेनन् ।
|
एघार वर्ष देशको प्रतिनिधित्व गरेका नेसकेन्सले ४९ अन्तर्राष्ट्रिय खेल खेल्दा १७ गोल गरेका थिए । नेसकेन्सले पछि पाँच वर्ष सहायक प्रशिक्षकका रुपमा पनि बिताए । गुस हिडिन्कले १९९५ मा डच टोली सम्हाल्दा देखि २००० सम्म नेसकेन्स सहायक प्रशिक्षकको भूमिकामा थिए । १९९८ मा हिडिन्कको नेतृत्वमा नेदरल्यान्ड्सले फ्रान्स विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । त्यस्तै फ्रान्क राइकार्डको नेतृत्वमा घरमा भएको युरो २००० मा नेदरल्यान्ड्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । राइकार्डकै आग्रहमा नेसकेन्सले २००६ देखि २००८ सम्म बार्सिलोनामा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।
नेसकेन्सले २०१२ सम्म प्रशिक्षण करियर जारी राखे । त्यसयता उनी युवा प्रशिक्षकको विकास अभियानमा दौडिरहेका छन् । युवा प्रशिक्षक विकास कार्यक्रमले विभिन्न उमेरका साना बालबालिकाहरुसँग कसरी काम गर्नुपर्छ भनेर सिकाउने र भविष्यको प्रशिक्षण करियरका लागि पनि अभ्यास हुने जानकारी नेसकेन्सले गराए ।
दुई पटक विश्वकपको फाइनल गुमाएका नेसकेन्सले क्लब फुटबलमा सबैथोक जिते । १६ वर्षको उमेरमै व्यावसायिक बनेका नेसकेन्स १८ वर्षको उमेरमा आयाक्समा आवद्ध भएका थिए । नेसकेन्सले आयाक्समा चार वर्ष बिताए । नेसकेन्स लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने सबैभन्दा युवा खेलाडी हुन् । आयाक्सले पहिलो पटक १९७१ मा च्याम्पियन्स लिग जित्दा उनी जम्मा १९ वर्षका थिए । त्यसपछि उनले २० र २१ वर्षको उमेरमा थप दुई वटा च्याम्पियन्स लिग जिते ।
‘लगातार तीनवटा च्याम्पियन्स लिग जित्नु मेरो लागि ठूलो अनुभूति थियो । तर सबैभन्दा ठूलो कुरा भनेको देशको प्रतिनिधित्व गर्नु हो,’ नेसकेन्सले आफ्नो उपलब्धिका बारेमा बोले ।
आयाक्समा चार वर्ष बिताएका नेसकेन्स त्यसपछि आफ्ना पूर्व क्लब सहकर्मी क्रायफ सम्मिलित बार्सिलोनामा आवद्ध भए । त्यहाँ उनले पाँच वर्ष बिताए ।
‘जतिबेला म बार्सिलोनामा आवद्ध भएको थिएँ । त्यतीबेला स्पेनिस फुटबलमा रियाल मड्रिडको दबदबा थियो । स्पेनमा ठूला रंगशालाहरु छन् । हामीले खेलेका हरेक घरेलु खेलमा ९५ हजार दर्शक हुन्थे । स्पेनिस समर्थकहरु फुटबल भनेपछि पागल छन्,’ १९७६ मा ला लिगा’को सर्वोत्कृष्ट खेलाडी घोषित भएका नेसकेन्सले भने ।
नेसकेन्सले क्रायफसँग क्लब फुटबलमा सात वर्ष सँगै बिताए । तीन वर्ष आयाक्समा र चार वर्ष बार्सिलोनामा । क्रायफसँग एकसाथ खेल्न पाउदाको अनुभव उनले यसरी साटे, ‘त्यतिबेला क्रायफ विश्वकै उत्कृष्ट खेलाडी थिए । मेरा लागि अदभूत थिए । मैले क्रायफबाट धेरै सिकें । फुटबल करियरमा भाग्यको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । क्रायफको पुस्तामा जन्मिनु मेरा लागि एउटा भाग्य थियो । तर भाग्य मात्रै सबथोक होइन । त्यसको लागि धेरै मेहनत गर्नुपर्छ । जुन मैले पनि गरें ।’
नेसकेन्सले काठमाडौ आउने क्रममा नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेल हेर्न भ्याएनन् । त्यो खेलमा वर्तमान पुश्ताले १९७८ को बदला लिएको हेर्ने उनको चाहना थियो । आफ्नो देश हारेकोमा मात्र नभई आफूहरुले भोगेको हारको बदला नयाँ पुश्ताले लिन नसकेकोमा पनि नेसकेन्सलाई दुःख छ । तर फुटबलिङ दृष्टिले हेर्दा चाँही नेसकेन्सलाई अर्जेन्टिनासँगको हार अस्वभाविक नतिजा लाग्दैन । डच टोलीले त्यो खेलमा देखाएको शाहस र जुझारुपनाबाट गर्व गर्नुपर्ने उनको बुझाई छ ।
भन्छन्, ‘दुई शुन्यले पछाडि रहेको अवस्थामा पनि खेल बराबरीमा ल्याउनु एकदमै तारिफयोग्य छ । कहिलेकाँही भाग्यले ठूलो भुमिका खेल्छ । हाम्रो हकमा सधैजसो भाग्यको खेल विपक्षमा गइरहेको छ ।’
|
आफ्नो समयका प्रभावशाली मिडफिल्डर नेसकेन्सको नजरमा वर्तमान पुश्ताका सबभन्दा सर्वोत्कृष्ट मिडफिल्डर को हुन त ?
सर्वोत्कृष्ट भन्न नचाहे पनि अचेलका खेलाडीमा उनलाई लुका मोडरिच खुबै मन पर्छ । ‘३७ वर्षको उमेरमा पनि उनी क्रोएसियाका लागि महत्वपूर्ण छन् । उनले खेललाई आफ्नो बनाउन सक्छन् । खेललाई ढिलो र छिटो दुवै उनकै हातमा हुन्छ । उनको नेतृत्व पनि गज्जबको लाग्छ, ’ नेसकेन्सलाई लाग्छ ।
मोडरिचको क्रोएसिया सेमिफाइनल पुगेको छ । मोडरिचको खेल नेसकेन्सलाई अवश्य पनि हेर्न मन छ । तर समयको अभावमा नेसकेन्सले आफू कतार जान नसक्ने बताए ।
त्यसोत नेसकेन्स सोमबार राती नै दोहाका लागि उड्दै छन् । तर, त्यहाँ उनको बसाई तीन घण्टा मात्र हुनेछ, त्यो पनि विमानस्थलको लाउन्जमा । तीन घण्टाको ट्रान्जिटपछि उनी दोहाबाट टुरिन जानेछन् । टुरिनबाट चार दिनका लागि स्विट्जरल्यान्ड पुग्नेछन् । त्यसपछि परिवारसँग क्रिस्मस मनाउन घर फर्किनेछन् । क्रिस्मसपछि पनि उनलाई फुर्सत छैन । थप दुई कोर्सका लागि बर्न र डच इजलेस जानुपर्छ ।
अनि नेपाल चाँही कहिले आउनुहुन्छ त ?
प्रश्न भुईमा झर्न नपाउँदै उनले जवाफ दिए, ‘यसपालीको कार्यक्रम सफल भयो भने फेरि अर्को वर्ष यस्तै थप कार्यक्रम लिएर आइहाल्छौं ।’