मोरोक्को

टोलीको मानसिकातामा परिवर्तन भएको छः बोनोउ

दोहा । मोरोक्कोका गोलकिपर यासिन बनोउले कतार विश्वकप २०२२ मा टोलीको प्रदर्शनले आफ्नो मानसिकता परिवर्तन भएको र त्यसले युवा पुस्ता लाई फुटबलमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

मोरोक्को शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो ।  

मोरोक्कोलाई जितमा युसुफ अल नासरीले गरेको गोल निर्णायक बन्यो । बोनोउका लागि यो ५०औं अन्तर्राष्ट्रिय खेल पनि थियो ।

उत्कृष्ट प्रदर्शन गरिहेको मोरोक्कोले समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई स्तब्ध पारेको थियो । मोरोक्को ऐतिहासिक सफलतामा बोनोउको महत्वपूर्ण भुमिका छ ।

अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा क्लिन सिट राख्न सफल भएका ३१ वर्षीय बोनोउले एक गोल मात्र बेहोरेका छन, त्यो पनि आत्मघाती । 
समूह चरणमा क्यानडाविरुद्ध मोरोक्कोका नायफ अग्वार्डले आत्मधाती गोल गरेका थिए ।

‘मलाई अझै विश्वास भइरहेको छैन । सपना देखे जस्तै लागिरहेको छ’ बोनोउले भने‘ प्रशिक्षकले भने जस्तै हाम्रो मनासिकतामा धेरै परिवर्तन आएको छ । युवा पुस्तामा विस्तारै केही गर्न सक्दैनौ भन्ने सोच हट्दै छ र हामी विश्वका कुनै पनि बलिया टोलीको समान गर्न तयार छौं भन्नेमा विश्वस्त भैसकेका छौ ।’ 
मोरोक्कोले बुधाबार सेमिफाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्दैछ ।