कतार विश्वकप २०२२

पेनाल्टीमा केन चुक्दा इङ्ल्यान्ड फेरि क्वार्टरफाइनलमा अभागी, फ्रान्स सेमिफाइनलमा

काठमाडौं । कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इङ्ल्यान्ड फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा अभागी सावित भएको छ ।

फ्रान्सका थियो हर्नान्डेजले एयर बल पछ्याइरहेका मेसन माउन्टलाई बल आउनुअघि नै लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर)मार्फत प्राप्त पेनाल्टीमा केनले ८४औं मिनेटमा गरेको प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएको थियो ।

पेनाल्टीमै एक गोल गरिसकेका केनले एउटै खेलमा प्राप्त दोस्रो पेनाल्टी खेर फालेपछि इङ्ल्यान्ड कतारको दोहामा जारी फ्रान्सविरुद्धको अन्तिम आठ भिडन्तमा २-१ ले पराजित हुँदै घर फर्कियो ।

त्यसअघि दोस्रो हाफमै प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले खेल १-१ को बराबरीमा ल्याएका थिए । बुकायो साकालाई औरेलियन टिचुआमेनीले लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले ५३औं मिनेटमा इङ्ल्यान्डको लगातार दोस्रो विश्वकपमा सेमिफाइनल पुग्ने आशा जीवित राखेका थिए ।

त्यही गोलसँगै केन इङ्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानमा पूर्व कप्तान वायन रुनीसँग ५३ गोलका साथ बराबरी बराबरी गर्न सफल भएका थिए ।

दोहास्थित अल बायात रंगशालामा टिचुआमेनीकै गोलमा साविक विजेता फ्रान्सले १८औं मिनेटमा अग्रता लिएको थियो । जसमा ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

जारी प्रतियोगितामा जिरौडको यो चौथो गोल हो । यो गोलसँगै जिरौड १९९० को विश्वकपमा क्यामरुनका रोजर मिल्लाले ३८ वर्षको उमेरमा चार गोल गरेपछि विश्वकपको एकै संस्करणमा चार गोल गर्ने ३६ वर्षमाथिको पहिलो खेलाडी बने ।

साथमा उनी फ्रान्सको लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा उनले पूर्व स्ट्राइकर थिएरी हेनरीलाई उछिनेका छन् । हेनरीले फ्रान्सका लागि ५१ गोल गरेका थिए भने जिरौडको कुल अन्तर्राष्ट्रिय गोलसंख्या ५२ पुगेको छ ।

फ्रान्सको जितमा टिचुआमेनी र जिरौडले गोल गरे पनि दुवै गोलका लागि अवसर सिर्जना गर्ने काम भने एन्टोनी ग्रिजम्यानले गरेका थिए ।

जारी प्रतियोगिताका पाँच खेलमा इङ्ल्यान्डले सुरुमा गोल खाएको यो पहिलो पटक हो । अघिल्ला चार खेलमा अपराजित रहेको टोलीले समूह चरणमा अमेरिकाविरुद्ध गोलरहित बराबरी नतिजा निस्किएको वाहेक सबै खेलमा पहिला गोल गरेको थियो ।

समूह चरणमा इरानमाथि ६-२ को जित हासिल गर्दा इङ्ल्यान्डले ६२ मिनेटमा ४-० को अग्रता लिएको थियो । दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको टोलीले अन्तिम खेलमा वेल्समाथि ३-० को जित हासिल गरेको थियो । यसैगरी अन्तिम १६ मा सेनेगललाई ३-० हराएको टोली प्रतियोगितामा अपराजित थियो ।

फ्रान्स भने समूह चरणका पहिलो दुई खेलमा अस्ट्रेलियामाथि ४-१ तथा डेनमार्कमाथि २-१ को जित हासिल गरेपछि अन्तिम खेलमा ट्युनिसियासँग १-० को नतिजामा पराजित भएको थियो । अन्तिम १६ मा साविक विजेता टोलीले पोल्यान्डलाई ३-१ ले हराएको थियो । समूह चरणमा अस्ट्रेलियामाथि पुनरागमनमा प्रभावशाली जित हासिल गरे पनि फ्रान्सले सुरुमा गोल खाएको थियो ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डको इतिहास राम्रो छैन । १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा इङ्ल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएको थियो । विश्वकपमा इङ्ल्यान्डले भोगेका पछिल्ला आठ मध्ये ६ हार युरोपियन देशसँगका थिए ।

विश्वकपमा फ्रान्स र इङ्ल्यान्डले १९६६ र १९८२ मा गरि दुई पटक एकआपसमा खेलेका थिए । दुवै पटक इङ्ल्यान्डले बाजी मारेको भए पनि फ्रान्सविरुद्ध पछिल्लो इतिहास भने इङ्ल्यान्डको राम्रो थिएन । पछिल्ला आठ खेलमा फ्रान्सविरुद्ध इङ्ल्यान्डले एक पटक मात्र जित निकालेको थियो ।

फ्रान्सले बुधबार यही रंगशालामा हुने सेमिफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को शनिबारै चाँडो गरि सम्पन्न क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलमाथि १-० को जित हासिल गर्दै विश्वकपको सेमिफाइनल पुग्ने इतिहासकै पहिलो अफ्रिकी टोली बनेको थियो ।