कतार विश्वकप २०२२

पहिलो हाफमा इङ्ल्यान्डमाथि फ्रान्सको अग्रता

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा अभागी रहँदै आएको इङ्ल्यान्ड कतारको दोहामा जारी फ्रान्सविरुद्धको अन्तिम आठ भिडन्तमा पहिलो हाफसम्म १-० ले पछि परेको छ ।

दोहास्थित अल बायात रंगशालामा जारी कतार विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्सका लागि १८औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा औरेलियन टिचुआमेनीले गोल गर्दै अग्रता दिलाएका थिए ।

जारी प्रतियोगिताका पाँच खेलमा इङ्ल्यान्डले सुरुमा गोल खाएको यो पहिलो पटक हो । अघिल्ला चार खेलमा अपराजित रहेको टोलीले समूह चरणमा अमेरिकाविरुद्ध गोलरहित बराबरी नतिजा निस्किएको वाहेक सबै खेलमा पहिला गोल गरेको थियो ।

समूह चरणमा इरानमाथि ६-२ को जित हासिल गर्दा इङ्ल्यान्डले ६२ मिनेटमा ४-० को अग्रता लिएको थियो । दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको टोलीले अन्तिम खेलमा वेल्समाथि ३-० को जित हासिल गरेको थियो । यसैगरी अन्तिम १६ मा सेनेगललाई ३-० हराएको टोली प्रतियोगितामा अपराजित थियो ।

फ्रान्स भने समूह चरणका पहिलो दुई खेलमा अस्ट्रेलियामाथि ४-१ तथा डेनमार्कमाथि २-१ को जित हासिल गरेपछि अन्तिम खेलमा ट्युनिसियासँग १-० को नतिजामा पराजित भएको थियो । अन्तिम १६ मा साविक विजेता टोलीले पोल्यान्डलाई ३-१ ले हराएको थियो । समूह चरणमा अस्ट्रेलियामाथि पुनरागमनमा प्रभावशाली जित हासिल गरे पनि फ्रान्सले सुरुमा गोल खाएको थियो ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डको इतिहास राम्रो छैन । १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा इङ्ल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएको थियो । विश्वकपमा इङ्ल्यान्डले भोगेका पछिल्ला आठ मध्ये ६ हार युरोपियन देशसँगका थिए ।

विश्वकपमा फ्रान्स र इङ्ल्यान्डले १९६६ र १९८२ मा गरि दुई पटक एकआपसमा खेलेका छन् । दुवै पटक इङ्ल्यान्डले बाजी मारेको भए पनि फ्रान्सविरुद्ध पछिल्लो इतिहास भने इङ्ल्यान्डको राम्रो छैन । पछिल्ला आठ खेलमा फ्रान्सविरुद्ध इङ्ल्यान्डले एक पटक मात्र जित निकालेको छ ।

पहिलो हाफसम्मको अग्रता कायम राख्न सके बुधबार यही रंगशालामा हुने सेमिफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को शनिबारै चाँडो गरि सम्पन्न क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलमाथि १-० को जित हासिल गर्दै विश्वकपको सेमिफाइनल पुग्ने इतिहासकै पहिलो अफ्रिकी टोली बनेको थियो ।