कतार विश्वकप २०२२

पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर सुरु गरेको विश्वकप क्वार्टरफाइनल खेलमा शनिबार पोर्चुगल पहिलो हाफमा प्रतियोगिताको सनसनी मोरक्कोसँग १-० ले पछि परेको छ ।

कतारमा जारी विश्वकप २०२२ को ‘सरप्राइज प्याकेज’ मोरक्कोले दोहास्थित अल थुमामा रंगशालामा मध्यान्तरसम्म पोर्चुगलको तुलनामा प्रभावकारी फुटबल खेलिरहेको छ । ठूला टिमलाई निराश पार्दै अघि बढिरहेको मोरक्कोका लागि अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गोल गरेका थिए । मैदानको वायाँ विंग्सबाट आएको क्रसलाई अल नासरीले निक्कै उचाईमा जम्प गर्दै हेड गर्दा पोर्चुगाली गोलकिपर डिएगो कोस्टा पूर्ण रुपमा निरिह भए ।

पोर्चुगलले पहिलो ४५ मिनेटमा विपक्षी पोस्टमा पाँच मात्र प्रहार गर्दा प्रतियोगितामा बाँकी रहेको एकमात्र अफ्रिकी प्रतिनिधि मोरक्कोले सात पटक विपक्षी पोस्टमा धावा बोलेको थियो ।

जारी प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको टोली बेल्जियम, क्रोएसिया र क्यानाडा रहेको समूहबाट विजेताका रुपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो ।

त्यसक्रममा टोलीले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो भने बेल्जियमलाई २-० तथा क्यानाडालाई २-१ को नतिजामा हराएको थियो । क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै शुक्रबार सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अन्तिम १६ मा मोरक्कोले धेरैको अनुमान विपरित पूर्व च्याम्पियन स्पेनलाई टाई ब्रेकरमा निराश पारेको थियो ।

पाँच पटकका बालन डी’अर विजेता पोर्चुगल पनि आफ्नो समूहबाट विजेताका रुपमा अगाडि बढेको थियो । तर समूह चरणमा दक्षिण कोरियासँग २-१ को नतिजामा पराजित भएको टोलीसँग मोरक्कोको जस्तो प्रतियोगितामा अपराजित रहेको अनुभव थिएन ।

घानालाई ३-२ तथा उरुग्वेलाई २-० को नतिजामा हराएको पोर्चुगलले अन्तिम १६ मा युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डमाथि ६-१ को फराकिलो जित हासिल गरेको थियो ।

स्विट्जरल्यान्डलाई हराउँदा रोनाल्डोको स्थानमा पहिलो रोजाईबाट खेलेका २१ वर्षे युवा गोन्सालो रामोसले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए । सोही कारण ढल्कँदो उमेर र खस्कँदो पदर्शनका कारण प्रशिक्षक फर्नान्डो सान्तोषले शनिबारको खेलमा पनि रोनाल्डोलाई बेन्चमै राखेका थिए ।