कतार विश्वकप २०२२

इङ्ल्यान्ड र फ्रान्सबीचको क्वार्टरफाइनल, कागजमा फ्रान्स माथि

काठमाडौं । क्वार्टरफाइनलको दोस्रो दिन आज कतार विश्वकपकै सबैभन्दा रोचक खेल हुँदैछ । इङल्यान्ड र साविक विजेता फ्रान्स सेमिफाइनलको बाटो खोज्दै एक-अर्कासँग खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजे अल बायात रंगशालामा हुँदैछ ।

अन्तिम १६ मा इङ्ल्यान्डले सेनेगललाई ३-० र फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गरेको थियो । कागजमा फ्रान्स इङ्ल्यान्डभन्दा केही माथि छ । सेमिफाइनलमा स्थानका लागि फ्रान्स प्रबल दाबेदार हो । तर उपस्थित खेलाडीको हिसाबले भने कोही भन्दा कोही कम छैन । दुबैसँग विश्वस्तरीय खेलाडिको बाहुल्य छ ।

सेनेगलविरुद्ध एक गोल गरेका कप्तान ह्यारी केनले अन्तराष्ट्रिय गोलको सङ्ख्या ५२ पुर्याएका छन् । यससँगै इङ्ल्यान्डका लागि सर्वकालिन उच्च गोलकर्ता बन्ने दौडमा पूर्व कप्तान वायन रुनीको बराबरी गर्न केनलाई एक गोल मात्र आवश्यक छ ।

समान ५२ गोल गरेका फ्रान्सका ओलिभियर जिरौड भने पोल्यान्डविरुद्ध गोल गरेपछि फ्रान्सका उच्च गोलकर्ता बनेका थिए । आज हुने खेलमा यी दुई स्ट्राइकरको भूमिका महत्वपूर्ण हुनेछ ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डको इतिहास राम्रो छैन । त्यसैले इङ्ल्यान्डलाई मानसिक दबाब हुने अनुमान गर्न सकिन्छ । १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा इङ्ल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएको थियो । विश्वकपमा इङ्ल्यान्डले भोगेका पछिल्ला आठ मध्ये ६ हार युरोपियन देशसँगका थिए ।

पछिल्ला सात विश्वकपमा फ्रान्सको यो पाचौँ क्वार्टरफाइनल हो । फ्रान्सले २०१४ मा जर्मनीसँग क्वार्टरफाइनलमा १-० को हार बेहोरेको थियो । रुसमा फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गरेको थियो । यसपाली फ्रान्सलाई  रुसमा जस्तो सहज हुनेछैन । जारी विश्वकपमा फ्रान्सले क्लिन सिट राख्न सकेको छैन । विपक्षी इङ्ल्यान्डले जारी विश्वकपमा १२ गोल गरिसकेकाले पनि फ्रान्सले गोल खान सक्ने अनुमान गर्न सकिन्छ ।

आफ्नो घरमा लुटपाट भएपछि राहिम स्टर्लिङ विश्वकप दौरान घर फर्किएका थिए । स्टर्लिङले सेनेगलविरुद्धको खेल गुमाएका थिए । तर आजको खेलमा उनी उपस्थित हुनेछन् । प्रशिक्षक गारेथ साउथगेटका सहायक स्टिभ हल्यान्डसँग असहमति जनाएका बेन ह्वाइट अझै अनुपस्थित छन् । बुधबार अस्वस्थताका कारण प्रशिक्षण गुमाएका मिडफिल्डर डेक्लन राइसले भने साउथगेटलाई चिन्ता दिएको छ । यद्यपि राइसले अस्वस्थता बावजुद खेल्न सक्ने सम्भावना छ ।

धेरैले आजको खेलका लागि प्रशिक्षक साउथगेटलाई ब्याकलाइनमा तीन खेलाडी राख्न सुझाव दिएका छन् । तर ५२ वर्षीय साउथगेट ४-३-३ मै अडिग रहनेछन् । जसले अहिले सम्म इङ्ल्यान्डलाई लाभ गरिरहेको छ । आज पनि मिडफिल्डमा जोर्डन हेन्डरसन, राइस र ज्युड बेलिङ्घम जोडिने अनुमान गरिएको छ ।

खुट्टामा सामान्य चोट लाग्दा उच्च गोलकर्ताको सुचिमा अग्रस्थानमा रहेका किलियन एमबाप्पे मंगलबारको प्रशिक्षणमा सामेल भएका थिएनन् । तर बुधबार उनी प्रशिक्षणमा फर्केका थिए । तसर्थ एमबाप्पेसँगै डिडियर डेशच्याम्पसले पोल्यान्डविरुद्ध सुरुआती रोजाईमा खेलाइएका खेलाडीलाई नै इङ्ल्यान्डविरुद्ध पनि निरन्तरता दिने सम्भावना बढी छ । रक्षात्मक मिडफिल्डर अरेलियन चुवामेनीले पहेँलो कार्ड पाएको खण्डमा फ्रान्सले उनलाई सेमिफाइनलमा गुमाउनेछ । त्यसैले डेशच्याम्पसले पहिलो रोजाई छान्दा मैदानमा हुने अनुशासन उल्लंघनका कारण हुने प्रभावका बारेमा सोच्नेछन् ।

इङ्ल्यान्डविरुद्द सबैभन्दा महत्वपूर्ण खेलाडी एमबाप्पे नै हुनेछन् । एमबाप्पेलाई रोक्न नसक्ने हो भने इङ्ल्यान्डको हार निश्चित जस्तै छ । एमबाप्पेले पहिलो रोजाइमा खेल्दा फ्रान्सले पछिल्ला ९ खेलमा हार बेहोरेको छैन ।

जारी विश्वकपमा तीन गोल गरिसकेका जिरौडलाई इङ्ल्यान्डविरुद्ध कीर्तिमान बराबरी गर्ने मौका छ । रोजर मिल्लाले १९९० को इटाली विश्वकपमा चार गोल गरेका थिए । त्यतिबेला मिल्ला ३८ वर्षका थिए । जिरौडले इङ्ल्यान्डविरुद्ध गोल गर्ने हो भने उनी मिल्लासँगै एकै विश्वकप संस्करणमा चार गोल गर्ने ३६ वर्षभन्दा बढी उमेरका अर्को खेलाडी हुनेछन् ।

विश्वकपमा फ्रान्स र इङ्ल्यान्डले दुई पटक एकआपसमा खेलेका छन् । १९६६ र १९८२ मा । दुबै पटक इङ्ल्यान्डले जितेको थियो । तर पछिल्लो इतिहास हेर्ने हो भने फ्रान्सविरुद्ध इङ्ल्यान्डले आठ भेटमा जम्मा एक जित निकालेको छ ।