नेपाल टि २० लिग

क्यान कार्यसम्पादन समितीको राजिनामा माग

काठमाडौं । नेपाल टि २० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै नेपाल क्रिकेट संघ ( क्यान) का सात जना केन्द्रिय सदस्यहरुले क्यान कार्य सम्पादन समितीको राजिनामा माग गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउन अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले क्यान कार्यसम्पादन समितीमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा केन्द्रिय सदस्य दुर्गाराज पाठक र पदक खड्काले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै क्यानसँग सम्झौता गरेको कम्पनी सेभेन थ्री स्पोर्ट्सकै प्रमुख स्पट फिक्सिङ्गमा संलग्नता हुनु दुखद् रहेको  भन्दै उनीहरुले यसमा मुख्य दोष क्यान नेतृत्वको रहेको आरोप लगाएका छन् ।

‘साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्वको हो । त्यसमा पनि महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिती नै प्रमुख दोषी हो,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा  भनिएको छ, ‘स्पट फिक्सिङ्ग हुँदा संस्था विरलै  प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ ।  त्यसैले क्यान नेतृत्व र कार्यसम्पादन समिती स्पट फिक्सिङको दोषबाट भाग्न मिल्दैन ।’ 

आफुहरुले  गल्ती हुन सक्छ भन्दै सचेत गराउँदा गराउँदै  पनि कार्यसम्पादन समितीले नेपाल टी २० लिगको आयोजनाका लागि रणनैतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री  स्पोर्टसलाई  भित्र्याएर जनाजानी गल्ती गरेको आरोप उनीहरुको छ ।

नेपाल टी २० लिग पुस ९ गतेबाट २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन  विश्वविद्यालयको क्रिकेट मैदानमा  भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

स्पट फिक्सिङको आरोपमा सिआइबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले गठनन गरेको छानबिन समितीले पनि  क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी गरिएकाले तत्काल खारेज गर्न सुझाब दिएको थियो ।  

क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । क्यानले बहिबार पत्रकार सम्मेलन गर्दै सम्झौतामा आफुले गल्ती गरेको स्विकार्दै यसलाई सच्चाएर अघि बढ्ने बताएको थियो ।  

यसैगरी उनलेहरुले अध्यक्ष चन्दसहितको समूहले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन पनि नेपाल क्रिकेट संघको आधिकारीक धारणा नभएको  बताएका छन् ।  छन् । यस विषयमा बोर्डमा कुनै पनि छलफल नगरिएको उनीहरुको भनाइ छ ।