आइसिसी पुरुष क्रिकेट विश्वकप लिग

एक दिवसीय श्रृंखलाका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ ।

क्यानले शुक्रबार अर्को महिना घरेलु मैदानमा हुने त्रिदेशीय एक दिवसीय  श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको हो ।

बलात्कारको आरोप लागेका पूर्व सन्दीप लामिछाने बन्द प्रशिक्षणमा परेका छैनन् ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको एक दिवसीय श्रृंखलाका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

सार्वजनिक तालिका अनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच)  अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् 

बन्द प्रशिक्षणमा रहेका नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलसन झा, शरद भेषवाकर, ललित नारायण राजवंशी ,विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अविनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोब, भुबन कार्की, अंकित सुवेदी