क्रिकेट

डिसीए कपः ऐश्वर्य र कैलाली मोडेलको विजयी सुरुआत

धनगढी । ऐश्वर्य विद्या निकेतन र कैलाली मोडल स्कुलले धनगढीमा बिहिबाट सुरु भएको दीपेन्द्र श्वार स्मृति डिसीए कप स्कुलस्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुललाई ४९ रन र कैलाली मोडेलले विद्याभुषण स्कुललाई  १० विकेटले पराजित  गरेका हुन् ।

दिनको पहिलो  खेलमा ऐश्वर्यले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको एरिस्टो निर्धारित २० ओभरमा  ६२ रनमै समेटियो । एरिस्टोका लागि  पवन बोहराले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ऐश्वर्यका पर्वत मलासीले चार तथा सुरेन्द्र धामीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ऐश्वर्यले निर्धारित २० ओभरमा आठ  विकेट गुमाएर एम सय १२ रनको योगफलत तयार पारेको थियो । 
ऐश्वर्यका परागंत मुडभरीले २८ र सागर लोथ्यालले १५ रन जोडे । एरिस्टोका निर्मल सिंह र किरण देउवाले समान दुई विकेट लिए ।

यसैगरी दिनको दोस्रो खेलमा कैलाली मोडेलले विद्याभुषण पब्लिक स्कुलमाथि १० विकेटको  शानदार जित निकालेको थियो । 
विद्याभुषणले प्रस्तुत गरेको ३१ रनको झिनो लक्ष्य कैलाली मोडेलले ३.५ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।


यसअघि पहिलो ब्याटिङ गरेको विद्याभुषण आठ ओभरमा मात्र ३० रनमा समेटिएको 
थियो ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी ‘प्लेयर अफ द टुर्नामेन्ट’ले पाँच हजार नगदसहित डिसीएमा चार महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने छ भने वेस्ट बलर र बेस्ट ब्याटरले समान तीन  हजार रुपैयाँ र तीन महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितालाई एसपिए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन  गरेका छन् ।