आइसिसी महिला यु-१९ टी २० विश्वकप

भारतको लगातार तेस्रो जित

 काठमाडौं । भारतले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा लगातार तेस्रो जित निकालेको छन ।

समूह ‘डी’अन्तर्गत विलोमुरे पार्कको दोस्रो मैदानमा बुधबार सम्पन्न खेलमा भारतले स्कटल्यान्डलाई ८३ रनले पराजित गरेको हो ।

यस जितसँगै भारत तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा लगातार तेस्रो पराजय ब्यहोरेको स्कटल्यान्डबीना अंक अन्तिम स्थानमा छ ।

भारतले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १३.१ ओभरमा मात्र ६६ रनमा समेटियो । आयरल्यान्डका लागि  डर्सी कार्टरले २४ र अलिसा लिस्टरले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि मन्नत काश्यपले चार, अर्चना देवीले तीन तथा सोनम यादवले दुई विकेट हात पारे ।

यसअघि  टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रनको योगफल तयार पारेको थियो । भारतका लागि गान्गडी त्रिशाले ५१ बलमा ६ चौका मद्दतमा सर्वाधिक ५७ रन जोडिन् । यसैगरी ऋचा घोषले ३३, स्वेता शेरावतले अविजित ३१ र हर्सिता बासुले अविजित ११ रन जोडे ।

स्कटल्यान्डका लागि क्याथरिन फ्रेसरले दुई तथा नयमा शेख र ओर्ला मोन्टगोमेरीले समान एक विकेट लिए ।

यही समूहको अर्को खेलमा आयोजक दक्षिण अफ्रिकाले युएईमाथि ४५ रनको जित निकालेको छ । यसैगरी बुधबार नै सम्पन्न समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलंकालाई एक सय आठ रन तथा बंगलादेशले अमेरिकालाई पाँच विकेटले पराजित गरेका थिए ।