नेपाल टी–२० लिग

विराटनगरलाई काठमाडौंको एक सय ५५ रनको लक्ष्य

काठमाडौं । नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्ससामू एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा  जारी शनिबारको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको काडमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रनको योगफल तयार पारेको थियो ।

काडमाडौंका लागि सान्तोष कार्की र इङ्ल्यान्डका एलेक्स ब्लेकले समान ३४ रन जोडे । यसैगरी सदीप रजालीले ३० रन तथा अविजित रहेका कप्तान ज्ञानेन्द्र मल्ले २२ र वसिर अहमदले १७ रन बनाए ।


विराटनगरका लागि वेस्ट इन्डिजका राज ननानले चार तथा नन्दन यादव र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

काठमाडौं नौं खेलमा आठ अंकसहित तेस्रो स्थानमा छ समान खेलमा समान खेलमा समान अंक जोडेको विराटनगर चौथो स्थानमा छ ।

दुवै टोली जितसहित प्लेअफ प्रवेश गर्न चाहन्छन् । विराटनगरसँगको हारले काठमडौंको प्लेअफ प्रवेश सम्भावना कमजोर बन्नेछ । पछिल्लो दुई खेलमा काठमाडौं फराकिलो रनले पराजित भएको थियो । लुम्बिनीसँग एक सय दुई रनले पराजित काठमाडौं फार वेस्टसँग ८३ रनले हारेको थियो ।

१० खेलमा १६ अंकसहित शीर्ष स्थानमा बसेको लुम्बिनी अल स्टार्स र समान खेलमा १४ अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन ।

फार वेस्ट भने ९ खेलमा मात्र ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजै हुने अर्को खेलमा पोखरा एभेन्जर्स र फार वेस्टबीच प्रतिस्पर्धा हुनेछ ।