वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

मधेसको पहिलो जित

काठमाडौं । मधेस प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान आज सम्पन्न खेलमा मधेशले गण्डकी प्रदेशलाई पाँच विकेटले हराएको हो । गण्डकीले प्रस्तुत गरेको  दुई सय १४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । 
मधेसका लागि  मयान यादवले ७४ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रनको योगदान दिए ।

त्यस्तै मेघराज रामले ४३, अली अन्सारीले ३२, इम्रान शेखले २७, सर्फराज मन्सुरीले २१, डब्लु मलिकले अविजित २१ र कप्तान अभिषेक तिवारीले अविजित १३ रन जोडे ।

गण्डकीका लागि शिशिर भुसाल, नृतेश गिरी, अर्जुन कुमार र करण पंगेनीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १३ रनको योगफल तयार पारेको थियो । 
गण्डकीका लागि गोविन्द विकले ८८ बलमा चार चौकामद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै सुजन गौतमले २०, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेण्ठले १६ र अर्जुन कुमालले ११ रन जोडे ।

मधेसका लागि साइमन रोयले तीन, अविजित मन्डल, नितेश यादव र अभिषेक तिवारीले समान दुई विकेट लिँदा निकेश गुप्ताले एक विकेट हात पारे ।
यस जितसँगै मधेशले पाँच खेलमा दुई अंक जोड्दा पराजित गण्डकीको ६ खेलबाट दुई अंक छ ।

फाइनलमा स्थान बनाइ सकेको सुदुरपश्चिम प्रदेश ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा लम्बिनी प्रदेश पाँच खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको बागमतीले ६ खेलबाट आठ अंक जाेडेकाे छ ।