ट्वान्टी २० एसिया कप क्रिकेट

श्रीलंकालाई बंगलादेशले दियो एक सय ८४ रनको लक्ष्य

काठमाडौं । ओपनर मेहिदी हसन मिराज र कप्तान साकिब अल हसनले तयार गरेको बलियो आधारमा अफिफ होसेन र मोहमदुल्लाहले आक्रामक ब्याटिङको योगदान थपेपछि बंगलादेशले भारतविरुद्धको एसिया कप सुपर चार खेल्ने सम्भावना बलियो बनाएको छ ।

समूह चरणअन्तर्गतको दोस्रो तथा अन्तिम खेलमा टस हारेर ब्याटिङलाई निम्त्याइएको बंगलादेशले श्रीलंकालाई एक सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अफिफ र महमुदुल्लाहले पाँचौं विकेटका लागि ३७ बलमा ५७ रनको साझेदारी गरेपछि बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो ।

ओपनर मिराजले २६ बलमा दुई छक्का र दुई चौकासहित २६ तथा साकिबले २२ बलमा तीन चौकासहित २४ रन बनाएर तयार गरेको आधारमा बंगलादेशका लागि अफिफले ३९तथा महमुदुल्लाहले २७ रन थपे ।

अफिफले २२ बलमा दुई छक्का र चार चौका प्रहार गर्दा मोहमुदुल्लाहले २२ बलमा एक छक्का र एक चौका हाने ।

मोसाडाक होसेनले ९ बलमा चार चौकासहित आक्रामक रुपमा अविजित २४ तथा तास्किन अहमदले ६ बलमा एक चौकासहित ११ रन बनाएपछि बंगलादेशको इनिङले सुखद क्लाइमेक्स पाएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले दुई/दुई विकेट लिँदा दिलसान मादुसांका, महेश थिकसाना र असिथा फर्नान्डोले एक/एक विकेटमा नाम लेखाए ।

समूह ‘बी’बाट सुरुआति दुई खेल जितेर अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको अवस्थामा आजको खेल जित्ने टोली समूहको उपविजेताका रुपमा सुपर चारमा पुग्नेछ । आजको खेलको विजेताले शनिबार सारजहाँमा हुने सुपर चारको खेलमा भारतको सामना गर्नेछ ।

अफगानिस्तानले पहिलो खेलमा श्रीलंकालाई आठ विकेट तथा दोस्रो खेलमा बंगलादेशलाई सात विकोटको नतिजामा पराजित गरेको थियो ।

भारतले पहिलो खेलमा पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । बुधबार हङकङलाई ४० रनले हराएपछि भारतले समूह ‘ए’ बाट सुपर चारमा स्थान पक्का गरिसकेको छ । समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ ।