नेपाली महिला क्रिकेट

युएईसामू नेपाल निरिह

काठमाडौं । आइसिसी यु १९ महिला ट्वान्टी २० विश्वकपको एसियाली छनोटको दोस्रो खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार नेपालले दिएको ९ रनको लक्ष्य युएईले विना विकेट क्षती १.१ ओभरमा पुरा गर्यो ।

युएईको लागि ओपनर थ्रिथा सतिसले चार बलमा चार  र लावन्या केनीले चार बलमा तीन रन प्रहार गरिन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ८.१ ओभरमा सबै विकेट गुमाउँदै आठ रनमा सीमित भयो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । स्नेहा महराले तीन तथा मनिषा राना र किरणकुमारी कुँवरले समान दुई रन जोडे । त्यस्तै आश्मा पुलामी मगर र अनु कडायत समान एक रन जोडे ।

युएईकी महिका गौरले पाँच विकेट लिदाँ इन्दुजा नन्दाकुमारले तीन र समायरा धर्नीधर्काले एक विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाली टोलीले कतारमाथि ७९ रनको जित निकालेको थियो । युएईले भने पहिलो खेलमा भुटानलाई हराएको थियो ।

नेपालले तेस्रो खेलमा सोमबार भुटानविरुद्ध खेल्नेछ । 

६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी २० विश्वकपको लागि छनोट हुनेछ ।  

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।