प्याट्रिओट्स कप

ब्लुबर्ड र गोल्डेनगेटले उपाधिका लागि खेल्ने

काठमाडौं । ब्लुबर्ड कलेज र गोल्डेनगेट कलेज प्याट्रिओट्स कप अन्तर कलेज ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा ब्लुबर्डले एपेक्स कलेजलाई एक सय १९ रनले र दाेस्राे सेमिफाइनलमा गोल्डेनगेट कलेजले हिमालयन ह्वाइटहाउस कलेजलाई ६ विकेटले पराजित गर्यो ।

ब्लुबर्डले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको एपेक्स १७.३ ओभरमा ८८ रनमै समेटियो ।

एपेक्सका मनिष खातीले सर्वाधिक २३ रन बनाए । यस्तै, जनक सुनारले १८ र सरोज चन्दले १३ रन बनाए ।

एपेक्सलाई सस्तैमा समेट्न ब्लुबर्डका सुवास खत्री, दुर्गेश क्षेत्री, निर्भिक पाठक र तिलकराज भण्डारीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको ब्लुबर्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय सात रनको योगफल खडा गरेको थियो ।

ब्लुबर्डका दीपक डुम्रेले सर्वाधिक ७४ रन बनाए । यस्तै, सचिन लेखकले ५४, दुर्गेश क्षेत्रीले ५० र रोहिम तिवारीले १० रन बनाए ।

यस्तै, आजको दोस्रो सेमिफाइनलमा हिमालयन ह्वाइट हाउसले दिएको एक सय तीन रनको लक्ष्य गोल्डेनगेटले १४ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

गोल्डेनगेटका तिर्थराज दासले सर्वाधिक ६१ र आशुतोष घिरैयाले १६ रन बनाए ।

हिमालयनका आदर्श झाले दुई विकेट लिँदा नितेश यादव र अश्विन थापाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको हिमालयन ह्वाइटहाउसले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय दुई रनको योगफल खडा गरेको थियो ।

हिमालयनका सतिष यादवले २१ रन बनाउदा आर्दश झाले १७, निश्चय थापाले १६ र रुपेश यादवले १३ रन बनाए ।

गोल्डेनगेटका सुर्य तामाङ र रवि साहले समान तीन विकेट लिए । यस्तै, सचिन शर्मा र रिजन ढकालले समान एक विकेट लिए ।