नेपाल प्रो– क्लब ट्वान्टी २० च्याम्पियनसिप

रुपन्देही ११ ले पुलिसलाई हरायो

भैरहवा । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा आयोजित नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपमा आइतबार नेपाल पुलिस क्लबलाई रुपन्देही ११ ले २९ रनले पराजित गरेको छ ।

भैरहवाको सिदार्थनगरमा सम्पन्न खेलमा रुपन्देही ११ ले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको पुलिस १८.५ ओभरमा ८८ रनमै समेटियो ।

पुलिसका शंकर रानाले २८, रोशन बुधलले २५ र गुल्सन झाले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसलाई सस्तोमै समेट्न बसिर अहमेदले तीन विकेट लिँदा विशालविक्रम केसी, अनिल खरेल र कृृष्ण कार्कीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देही ११ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रनको योगफल तयार गरेको थियो ।

रुपन्देहीका विशालविक्रम केसीले सर्वाधिक २९ रन बनाए । यस्तै, विक्रम भुसालले १९, बसिर हमेदले १७ रन बनाउँदा देव खनाल र तुल थापाले समान १३ रन जोडे ।

पुलिसका पवन सर्राफले चार विकेट लिए । यस्तै, मन्जित श्रेष्ठ, सागर ढकाल, गुल्सन झा र करण केसीले समान एक विकेट लिए ।