नेपाल बास्केटबल लिग

नेपाल बास्केटबल लिग जेठमा हुने

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले गर्दै आइरहेको नेपाल बास्केटबल लिग (एनबिएल) आगामी जेठमा हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत लिगअन्तर्गत पुरुष बास्केटबल जेठ सात र महिला लिग १८ गतेदेखि सुरु हुने जनाएको हो ।

दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरु असार ३२ गतेदेखि सुरु हुने र फाइनल खेल साउन सात गते हुनेछ ।

पुरुषतर्फ आठ टिम सहभागी हुनेछन् भने महिलातर्फ पाँच टोलीको सहभागिता रहने छ ।

पुरुषतर्फ टाइम्स इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेशनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलो सहभागी हुनेछन् ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसए नेपाल सहभागी हुने निश्चित भइसक्दा एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

डबल राउन्ड रोविन पद्दतीमा सञ्चालन प्रतियोगितामा सहभागी टिमले होम र अवे गरी एकअर्काविरुद्ध दुई खेल खेल्नेछन् ।

नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीस श्रेष्ठले अन्तर्राष्ट्रिय खेल नहुँदा यस प्रकारले खेलबाट नै खेलाडीको जिविकोपार्जन हुने बताए ।

‘प्रतियोगिता हुनु निकै राम्रो हो । प्राइभेट सेक्टरबाट यस प्रकारका खेलहरु धेरैभन्दा धेरै हुन आवश्यक छ । अन्तर्राष्ट्रिय खेल नहुँदा खेलाडीहरु सर्भाइभ गर्ने नै यस्तै खेलबाट हो,’ कप्तान श्रेष्ठले भने ।

यस्तै, आयोजकका उपाध्यक्ष अरुण कार्कीले यो प्रतियोगिता खेलाडीको लागि गरिएको बताए ।

‘अघिल्लो दुई संस्करण हामीले सफलतापूर्वक आयोजना गरिसकेका छौं । हाम्रो प्यासन र खेलाडीका लागि यो प्रतियोगिता गरेका हौं,’ कार्कीले भने ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

दुवै विधाका ‘प्लेअर अफ दी म्याच’ ले तीन हजार रुपैयाँ पाउनेछन् । यस्तै, दुवै विधाका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाउने आयोजकले जनाएको छ ।