टेस्ट

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको सहज जित

क्राइस्टचर्च । न्युजिल्यान्डलाई दोस्रो टेस्टमा एक सय ९८ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले दुई टेस्टको शृंखला १-१ को बराबरीमा टुङ्याएको छ ।

९४-४ बाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको न्युजिल्यान्ड दुई सय २७ रनमा सीमित भएपछि दक्षिण अफ्रिकाले जितससहित शृंखलामा बराबरी गरेको हो ।

पाँचौ दिन न्युजिल्यान्डले थप एक सय ३३ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । अविजित ६० रनबाट खेल सुरु गरेका डेभोन कन्वे ९२ रनमा आउट भएपछि न्युजिल्यान्ड दबाबमा आएको थियो । उनलाई लुथो सिपाम्पाले पवेलियनको बाटो देखाएका थिए । 

त्यस्तै ४४ रनमा खेलिरेका टम ब्लनडेनलाई मार्को जान्सेनले टेम्बा बभुमाबाट क्याच गराएका थिए । जान्सेनले  पहिलो इनिङमा शतक प्रहार गरेका कोलिन डी ग्रान्डहोमलाई पनि आउट गरेका थिए । 

दक्षिण अफ्रिकाका कागिसो रबाडा, जान्सेन र केशब महाराजाले समान तीन विकेट लिए । 

यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिङमा तनि सय ६४ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्ड पहिलो इनिङमा दुई सय ९३ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले ७१ रनको अग्रता लिएको थियो ।

दक्षिण अफ्रिकाले ३५४–९ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि न्युजिल्यान्डले जितका लागि चार सय २५ रनको विजयी लक्ष्य प्राप्त गरेको थियो ।