ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

युएई र आयरल्यान्ड ट्वान्टी २० विश्वकपमा

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत ओमानका सम्पन प्रतियोगिताबाट सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।

छनोटअन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनलका आ–आफ्नो खेलमा जित निकाल्दै दुबै टोलीले अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेका हुन् ।

सेमिफाइलनमा युएईले नेपाललाई ६८ रनले पराजित गर्दा आयरल्यान्डले घरेलु टोली ओमानमाथि ५६ रनको जित दर्ता गरायो ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा युएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा एक सय सात रनमा समेटियो । यस्तै, अर्को सेमिफाइलनमा आयरल्यान्डको दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमान १८.३ ओभरमा एक सय नौ रनमा सीमित बन्यो ।

नेपाल र ओमान क्रमशः समूह ‘बी’ को विजेता र उपविजेताको रुपमा सेमिफाइलन प्रवेश गरेका थिए । यस्तै, समूह ‘ए’ बाट युएई समूह विजेता र आयल्यान्ड उपविजेताका रुपमा सेमिफाइलन आएको थियो ।

यी दुईबीचको फाइलन बिहिबार हुनेछ ।