ट्‍वान्टी २० शृंखलामा पाकिस्तानको विजयी सुरुआत

नटिङ्‍घम, (खेलाडी)- एकदिवसीय शृंखलामा ३-० को हार भोगेको पाकिस्तानले इङ्ल्यान्डविरुद्ध तीन ट्‍वान्टी २० अन्तर्राष्‍ट्रिय खेलको शृंखला शुक्रबार राति जितका साथ सुरु गरेको छ ।

ओपनिङ जोडी मोहम्मद रिजवान र कप्तान बाबर आजमको अर्धसतकप्रेरित पाकिस्तानले नटिङ्‍घममा भएको पहिलो ट्‍वान्टी २० खेलमा ३१ रनको विजय हासिल गर्‍यो । 

टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको भ्रमणकारी टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रनको योगफल तयार गरेको थियो । विकेटकिपर ब्याट्सम्यान रिजवानले ६३ तथा कप्तान आजमले ८५ रनको इनिङ खेलेपछि पाकिस्तान ठूलो योगफल बनाउन सफल भएको थियो । 

पहिलो विकेटका लागि १ सय ५० रनको साझेदारी गर्ने क्रममा रिजवानले ४१ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ४९ बल सामना गरेका आजमले आठ चौका र तीन छक्का प्रहार गरेका थिए । 

पाकिस्तानका लागि फखर जमानले आठ बलमा तीन छक्का र एक चौकासहित २६ रन बनाउँदा मोहम्मद हाफिजले १० बलमा तीन छक्का र एक चौकासहित २४ रनको योगदान गरे । यसैगरी सोएब मक्सुदले सात बलमा दुई छक्का र एक चौकासहित १९ रन बनाए ।  

इङ्ल्यान्डका टम करेनले दुई विकेट लिँदा डेविड विली, साकिब महमुद र लेविस ग्रेजरीले एक/एक विकेट लिए । 

जवाफमा २ सय ३३ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको इङ्ल्यान्डले १९.२ ओभरमा २ सय १ रन बनाउँदा सबै विकेट गुमायो । 

पाकिस्तानका शाहिन शाह अफ्रिदी र साडब खानले तीन/तीन तथा इमाद वासिम, मोहम्मद हस्‍नैन र ह्‍यारिस रौफले एक/एक विकेट लिएपछि लियाम लिभिङस्टोनले सतक बनाउनाका बावजुद इङ्ल्यान्ड लक्ष्यनजिक पुग्‍न सकेन । 

अत्यन्तै आक्रामक ब्याटिङ गर्ने क्रममा लिभिङस्टोनले ४३ बलमा नौं छक्का र ६ चौकासहित १ सय ३ रनको इनिङ खेलेका थिए । तर अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा इङ्ल्यान्ड विजयी सुरुआतबाट बञ्चित भयो । 

इङ्ल्यान्डका लागि जेसन रोएले ३२ रन थपे भने कप्तान इयोन मोर्गान र डेविड विलीले समान १६ रन जोडे । जोनी बेयरिस्टोले ११ तथा लेविस ग्रेजरीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

तीन ट्‍वान्टी २० खेलको शृंखलाअन्तर्गत दोस्रो खेल आइतबार लिड्समा हुनेछ ।