प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: पुलिस फाइनलमा

काठमाडौं । दीपेन्द्रसिं ऐरीको पाँच विकेटप्रेरित नेपाल पुलिस क्लब बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिसले बागमतीलाई १ सय ५६ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको बागमतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन मात्रै बनाउन सक्यो । जितसँगै विभागीय टोली पुलिस फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

बागमतीका लागि ओपनर आदिल खानले २७ तथा कप्तान ज्ञानेन्द्र मल्लले २३ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बागमतीका लागि ३३ रनको सामना गरेका आदिलले ३ चौका प्रहार गरेका थिए ।

यस्तै, १६ बल खेलेका कप्तान ज्ञानेन्द्रले ४ चौका प्रहार गरेका थिए ।  यस्तै रामनरेस गिरीले २५ बलमा ३ चौकासहित अविजित २२ तथा रिजन ढकालले अविजित १५ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि ४ ओभरमा १० रन खर्चेका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । यस्तै सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको पुलिसका लागि पवन सर्राफले ५४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै १६ बलमा २ चौका र २ छक्कासहित दिलिप नाथले अविजित ३१ रन बनाउँदा अनिल साह २५ रन बनाएर पेभेलियन फर्केका थिए ।

बागमतीका लागि नन्दन यादव र रिजन ढकालले २/२ विकेट लिएका थिए ।

जितसँगै पुलिस प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार हुने फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लब र एपिएफ क्बलबीचको विजेतासँग खेल्ने छ ।