यु-१९ एसिया कप

नेपाललाई ३ सय २३ रनको लक्ष्य

काठमाडौं । एसिसी यु–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ३ सय २३ रनको लक्ष्य पाएको छ । युएईस्थित शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनको योगफल तयार गर्यो ।

श्रीलंकाका लागि ओपनर चामिन्डु विक्रमासिङ्गेले १ सय ११ रनको शतकीय इनिङ खेले । चामिन्डुले दोस्रो विकेटका लागि शदिशा राजपाक्षसँग २ सय २३ रनको साझेदारी गर्दै १२६ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै, राजापाक्षले ११९ बलमा ११ चौका र २ छक्कासहित १ सय ३१ रनको शानदार शतक बनाए । कप्तान दिनुथ वेल्लागेले अविजित ३४ रन बनाएका थिए । यस्तै, शेभोन ड्यानियलले १७ तथा यासिरु रोडरिगोले ६ रन जोडे ।

नेपालका लागि मोहम्मद अदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १ विकेट लिए ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई एक सय ५४ रनको नतिजा सुम्पिएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतमाथि दुई सय ७४ रनको जित निकालेको थियो ।

समूह ‘बी ’मा दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ भने एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । कुवेत र नेपालले अंक खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।

समूहको अन्तिम खेलमा नेपालले  मंगलबार कुवेतको सामना गर्नेछ ।