प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एक अन्तिम चारमा

धनगढी । प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । प्रतियाेगिताअन्तर्गत दोस्रो दिन (आइतबार)  को दोस्रो खेलमा बागमती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश एकले सेमिफाइनलकाे टिकट काटेकाे हाे । 

एक सय १५ रनकाे लक्ष्य पछ्याएकाे बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५९ रनमात्र जाेड्न सक्याे । 

बागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेक अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । बागमतिका ५ जना खेलाडी रनआउट भए ।

प्रदेश एककी कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङमा आएकाे प्रदेश नम्बर एकले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १४ रनकाे याेगफल खडा गरेकाे थियाे । 

प्रदेश नम्बर एकका लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलेकी थिइन् । ६२ बलको सामना गरेकी उनले ५१ रन बनाएकी थिइन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाएकी थिइन् । 

बागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई/दुई विकेट लिएका थिए ।

खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश एककी अप्सरी वेगम प्लेयर अफ द म्याच भईन् ।