आइसिसी वरियता

दीपेन्द्रको ट्वान्टी २० ब्याटिङ वरियता सुधार

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी ट्वान्टी २० ब्याटिङ वरियतामा १० स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)  ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र ५०औं स्थानमा पुगेका हुन् ।

यससँगै दीपेन्द्रले भारतका कप्तान रोहित शर्मालाई पछि पारे । नयाँ वरियातामा रोहित ५१ स्थानमा छन् ।

यसैगरी नेपालका कप्तान रोहितकुमार पौडेल सात स्थान खस्किदै५९औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेख ८६औं स्थानमा छन्। उनी १४ स्थान तल झरे। 

ब्याटिङ वरियाताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव कायम छन् । इङ्ल्यान्डका फिल साल्ट, पाकिस्तानका मोहम्मद रिजवान, दक्षिण अफ्रिकाका एडियन मार्करम र  पाकिस्तानका बाबर आजम क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । 

यसैगरी बलिङ वरियतामा तीव्र गतिका बलर सोमपाल कामी १६ स्थान सुधार गर्दै ९२औं स्थानमा पुगेका छन्। उनी शीर्ष १०० भित्र अटाउने एक्ला नेपाली बलर हुन् ।

बलिङ वरियतामा इङ्ल्यान्डका आदिल रासिद शीर्ष स्थानमा छन् । श्रीलंकका वानिन्दु हसरंगा, वेस्ट इन्डिजका अकिल हुसेन, भारतका अक्षर पटेल र श्रीलंकका महेश तिक्क्षणा क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । 

अलराउन्डरतर्फ दीपेन्द्र ११औं स्थानमा यथावत रहँदा कुशल मल्ल ३३, गुल्सन झा ६०, रोहित ६३ र करण केसी ७३औं स्थानमा छन् । कुशल ६ स्थान तल झर्दा गुल्सनले ६ स्थान सुधार गरेका छन् । यसैगरी रोहित तीन स्थान खस्किदा करण तीन स्थानमाथि उक्लिए । 

अलराउन्डको वरियतामा बंगलादेशका साकिब अल हसन छन् । श्रीलंकका वानिन्दु हसरंगा, अफगानिस्तानका मोहम्मद नाबी, दक्षिण अफ्रिकका एडियन मार्करम र अस्ट्रेलियाका मार्कस स्टोइनिस क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा अटाएका छन् ।