इन्डियन प्रिमियर लिग

मुम्बईको पहिलो जित

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा पहिलो जित दर्ता गरेको छ । मुम्बईले घरेलु मैदान वान्खडे रंगशालामा आइतबार दिल्ली क्यापिटल्सलाई २९ रनले हरायो ।

जितपछि मुम्बई चार खेलमा दुई अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । दिल्ली भने पाँच खेलमा दुई अंकका साथ पुछारमा पुगेको छ ।

मुम्बईले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २०५ रन बनायो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा सात छक्का र तीन चौकाको मद्दतले ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।  यसैगरी पृथ्वी शाले ४० बलमा आठ चौका र तीन छक्काको मद्दतले ६६,अभिषेक पोरेलले ४१ र डेविड वार्नरले १० रन बनाए ।

दोस्रो विकेटका लागि पृथ्वी र अभिषेकले ८८ रनको साझेदारी गरे । मुम्बईका लागि जेराल्ड कोट्जीले चार, जसप्रित बुमराहले बुम्राहले दुई तथा रोमारियो शेफर्डले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३५ रनको योगफल तयार पार्यो ।

मुम्बईका लागि रोहित शर्माले ४९, टिम डेविडले अविजित ४५, इशान किसनले ४२, रोमारियो शेफर्डले अविजित ३९ र कप्तान हार्दिक पाण्डे्यले ३९ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र इशानले ८० रनको साझेदारी गरे । यसैगरी टिमले पाँचौं विकेटका लागि हार्दिकसँग ६० तथा छैटौं विकेटका लागि रोमारियोसँग अविजित ५३ रनको साझेदारी गरे । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले समान दुई तथा खलिल अहमदले एक विकेट लिए ।

जितपछि मुम्बई चार खेमला दुई अंक जोडेर  आठौं स्थानमा उक्लिएको छ । दिल्ली भने पाँच खेलमा दुई अंकका साथ पुछारमा पुगेको छ ।